सामाजिक विविधताका अनेकाैं आयामहरुका बिच कुनै पनि देशमा जुनसुकै बेला जातीय , धार्मिक वा अन्य कुनै किसिमको द्वन्द्व वा हिंसात्मक गतिविधि तीव्र गतिमा बढ्न सक्छ । त्यसाे भएमा शिष्टाचार, अखण्डता , शान्ति र सद्भाव कायम राख्न सरकारका साथसाथै त्याे मुलुककाे राज्य व्यवस्था र संयन्त्रसँगै सञ्चारमाध्यम पनि गम्भीर रुपमा जवाफदेही निकाय हो ।
अहिले नेपालमा उग्र जातीय पहिचान र धार्मिक असहिष्णुताको मुद्दा कोशी प्रदेशको नामकरण र धरानको मन्दिर परिसरमा चर्च निर्माण जस्ता विषयमा जटिल बनेको छ । याे अवस्थामा प्रदेशमा मात्रै होइन वैचारिक विभेद व्याप्त भएको हाेइन देशभर नै प्रखर धार्मिक र जातीय सामाजिक द्वन्द्वसँगै हिंसाको खतराका संकेतहरू सतहमा देखापरेका छन् । यस्ता अफ्ट्यारा परिस्थितिमा सैद्धान्तिक र व्यवहारिक रूपमा मिडिया सामान्य अवस्थामा भन्दा बढी जिम्मेवार हुनुपर्छ ।
राज्यकाे चौथो अङ्ग , समाजको पहरेदार, पर्यवेक्षक र अनुगमनकर्ता, संयोजक र सहजकर्ताका रूपमा मिडियाको भूमिका राज्य व्यवस्था र संयन्त्रका सबै निकायहरूबीच सहज समन्वयका लागि सधैं महत्त्वपूर्ण हुन्छ । तर केही थोरै अपवादबाहेक हाम्रो देशका सञ्चारमाध्यमहरू आफ्नो जिम्मेवारीबाट पन्छिने मात्रै होइन, उल्टो जातीय र धार्मिक द्वन्द्व र चर्को विवादलाई उक्साउने र उत्प्रेरित गर्ने गैरजिम्मेवार बाटोमा हिँडेका छन् ।
व्यक्तिगत माइक्रो ब्लगिङ र ब्लगिङ साइटहरू, यूट्यूब र साना स्तरका अनलाइन पोर्टलहरूको बारेमा त कुरा गरी साध्यै छैन, के छलफल गर्ने ? यी बाहेक पनि मुलधाराका मिडिया र पत्रकारहरू, जसमा प्रतिष्ठित, लोकप्रिय र प्रख्यात भनिएकाहरू धेरै छन्, जसले जातीय र धार्मिक सहिष्णुता बढाउने खालका सामग्री प्रकाशन\प्रसारण गरी समाजमा शान्ति, सुव्यवस्था, सामाजिक एकता र सद्भाव कायम गर्नमा महत्त्वपूर्ण याेगदान गर्नुपर्ने हाे । तिनीहरूमा जातीय र धार्मिक सद्भाव र सहिष्णुताकाे संरक्षण गर्ने जिम्मेवारी र जवाफदेहीता त सदा हुन्छ नै । अझ सामाजिक समस्याहरु बल्झिएका बेला त्यसलाई सुल्झाउन त ती लब्धप्रतिष्ठित मिडिया र पत्रकारहरुकाे अझ बढी जिम्मेवार र जवाफदेही भूमिकाकाे अपेक्षा हुन्छ ।
तर राज्यमा संकट उत्पन्न हने परिस्थिति देखिएका बेला थप जिम्मेवार र उत्तरदायी बन्ने अपेक्षा गरिएका सञ्चारमाध्यम र पत्रकारहरू जातीय र धार्मिक द्वन्द्व र हिंसालाई झन् बढाउँदै लैजाने ठीक उल्टो बाटोमा हिँडेको देख्दा सारा नेपालीकाे मन निकै दुःखेको छ ।
नेपालका थोरै अपवाद बाहेकका सञ्चारमाध्यम एवम् पत्रकारहरु आजका दिनमा उत्तरदायित्व विहिनताकाे पूर्णतया गलत र विपरीत बाटोमा लागेका देखिन्छन् । यो नेपाली मिडियाको चरम गैरजिम्मेवारीपन र अत्यन्त असक्षम छविको सीमाभन्दा बाहिरको लाजमर्दो अवस्था हो ।
सामाजिक उत्तरदायित्व, जवाफदेहीता, सामाजिक अनुगमनको भूमिका र राज्यकाे चौथो अङ्गको भूमिका, समाजकाे पहरेदारी र निगरानी कार्य नेपाली पत्रकार र सञ्चारमाध्यमको दृष्टिमा निकै टाढाको विषय बनेको देखिनु अत्यन्तै दुर्भाग्यपूर्ण छ । आजकल लगभग सबै नेपाली मिडिया र मिडियाकर्मी विश्वासघात र नालायकीपनकाे कुख्यात बलिया उदाहरण बनेका छन् ।
- सुनील पाैडल