Friday, June 26, 2020

नेपालमा काेराेना कहरबारे

    वास्तवमा नेपालमा काेराेनासँग जुन बेला हामी खासै डराउनु पर्ने अवस्था आइसकेकाे थिएन , त्यसबेलै अधिक डरायाैं । बन्दा-बन्दी कडा बनायाैं । राज्य प्रशासन कडा बन्याे।
  अत्यधिक डर मान्नुपर्ने गरि संक्रमण बढ्न थालेकाे अहिलेकाे परिस्थितिमा हामी डराउन छाड्याैं । बन्दा-बन्दी खुकुलाे भाे। राज्य प्रशासन लचिलाे बन्याे। 
    काेराेना कहरसँग जुध्न र यसबाट बच्न गर्नुपर्ने तयारी र हाेशियारीमा राज्य चुकेकै हाे ।
    अन्तर्राष्ट्रिय उडान र नाकाहरुमार्फत हुने आवतजावत राेक लगाइएकाे भन्दा  १०-१५ दिन अघि नै राेकिनुपर्ने थियाे । खुल्ला नाकाहरुमा विदेशबाट हुने आवतजावतमा निकै कडाइ गर्नुपर्थ्याे।
   विभिन्न देशहरुबाट गरिने उद्धार र पुनर्सथापना  त्यस अगावै व्यवस्थित ताैर तरिकाबाट भैसक्नुपर्थ्याे । 
   पर्याप्त मात्रामा परिक्षण कीट खरिद , क्वारेन्टिन र आइसाेलेसन केन्द्र र कक्षहरुकाे स्थापनामा हामीले अलि ढिलाइ गर्याैं । अझै पर्याप्त मात्रामा तिनकाे व्यवस्थापन गर्न सकिएकाे छैन । क्वारेन्टिन भित्र भाेकै बस्नुपरेकाे कुरा त परै जाओस् सामुहिक बलात्कार समेत भएकाे समाचार बाहिरियाे । आइसाेलेसनमा राखिएकाले उपचार नपाइ ज्यान गुमाएपछि काेराेना नेगेटिभ देखिएकाे अत्यन्त कहालीलाग्दा घटनाहरु सुनिए। 
  काेराना नियन्त्रण र राेकथामका लागि हाम्राे पूर्व तयारी निक्कै नै फितलाे बन्याे । स्वास्थ सामाग्री खरिदमा नीतिगत हाेशियारी नपुग्दा स्वास्थमन्त्री र सिङ्गै सरकार भ्रष्टाचारको दाेषमा मुछियाे । 
उद्धारका लागि उडान सम्झाैता गर्दा समेत भ्रष्टाचार भएकाे सुचना बाहिरियाे । स्थानीय सरकारहरुले पनि उद्धारका लागि सरकारी बजेट छुट्याए तर रकम आफ्ना गाेजीमा हालेर उद्धार गरिएकाहरुसँग भाडा उठाए भन्ने आराेप खेपे । हुने कुरा भइहाले। 
   हामीले वास्तविक रुपमा काेराेना विरुद्ध संघर्ष गर्नुपर्ने खास बेला भने अहिले आइपरेकाे छ। संक्रमण दिनानुदिन हजार हाराहारीकाे सङ्ख्यामा बढ्दाे छ । मृतक पनि थपिँदै छन् । नेपालमा काेराेना सम्बन्धि अध्ययनमा संलग्न विज्ञद्वारा साउन २५ सम्म संक्रमण उच्च बिन्दुमा पुग्ने , करिब तीन लाख संक्रमित हुने र दस हजार भन्दा बढीकाे मृत्यु हुने प्रक्षेपण गरिएकाे छ । यस अवस्थामा काेराेना राेकथाम र नियन्त्रणमा हामीमाथि निकै ठूलो भार आइपरेकाे छ ।  
    काेराेनाकाे परिघटना स्वरुप आत्महत्या, भाेकमरी , आर्थिक संकट आदिकाे सामना गर्न उत्तिकै गाह्रो अवस्था आइलागेकाे छ। 
    काेराेनाले थिलथिलाे र जर्जर बनेकाे अर्थतन्त्रबिच बजेट आएकाे छ। करकाे भार बढेकाे छ । वैदेशिक अनुदान घट्ने निश्चितिका बाबजुद वैदेशिक अनुदान र ऋणका आधारमा अर्थतन्त्र धान्ने वा करकाे दायरा बढाउने बाहेकका बिकल्प बजेटले देखेकाे छैन । 
      आर्थिक वर्षान्त आइसक्याे । महशुल , शुल्क, कर र त्यससँगै जरिवाना र हर्जनाकाे अक्षम्य कहर हामी किसान , कर्मचारी , उपभाेक्ता र व्यावसायीलाई छँदैछ। 
     नेपालमा भ्रष्टाचार र अनियमितता नै अर्थतन्त्र, सुशासन  र विकासकाे बाधक हाे भन्ने जगजाहेर हुँदाहुँदै पनि यसकाे राेकथाम र नियन्त्रणमा राज्य सुनिश्चित देखिँदैन ।
     यस्तै विषम परिस्थितिका बिच प्राणघातक काेराेनाकाे संकटकाे जाेखिम नेपालमा फेरि ह्वात्तै बढेकाे छ । बन्दा-बन्दीले देशै आक्रान्त बन्ने स्थिति देखिएपछि राज्यले सर्वसाधारण जनता स्वयंलाई 'आफ्नाे सुरक्षा आफैं गर्नु' भन्ने संदेशका साथ खुकुलाेपना बढायाे । यसबाट  देशभर आवतजावत बढेसँगै संक्रमणकाे जाेखिमलाई पनि नबढाउने कुरै भएन । संक्रमणकाे जाेखिम वा संक्रमित बढ्नु भनेकाे हामीले पाउने परिक्षण र उपचारकाे सुविधा घट्नु हाे । 
     तसर्थ अब सबैले थप सचेत बन्नुपर्ने बेला आएकाे छ । सचेत बनाैं। सुरक्षित रहाैं । काेराेना विरुद्ध लड्न आत्मविश्वास बढाअाैं । सबै नेपालीकाे जय हाेस् । 
                         -सुनील पाैडेल

No comments:

Post a Comment