Friday, April 30, 2021

संकट , विचार र विराेध :

 संकट , विचार र विराेध :


     हाे, निरङ्कुश राजतन्त्र ढाल्नमा, गणतन्त्र ल्याउनमा , जनजागरण मार्फत जनतालाई राजनीतिप्रति थप चेतनशील बनाउनमा, पिछडा वर्गकाे आवाज थप बुलन्द गर्नमा, विकेन्द्रीकरणलाई संघियता मार्फत थप प्रभावकारी तुल्याउने प्रयत्न गर्नमा, लगायत भन्न‌ैपर्दा देशकाे समग्र अवस्था सुधारर्नमा माओवादीकाे अग्रसरता र याेगदान धेरै मुल्यवान छ ।

     २०६२/६३काे जनआन्दोलन मार्फत प्राप्त परिणामका सम्पुर्ण जस पाउनेमा सारा नेपाली सर्वसाधारण जनतासँगै दल मध्ये अग्रपंक्तिमा नेकपा माओवादी पर्छ, पर्छ । उपलब्धिकाे जस पाउने हकदार मध्येकाे प्रमुख दल माओवादी नै हाे । यसलाई स्विकार गर्नैपर्छ र गरिन्छ ।

     यस मानेमा साँच्चिकै देश र जनताका लागि भनेर ईमानदारीका साथ लागिपरेका र साथ दिएका तमाम माओवादीप्रति सम्मान व्यक्त गर्नैपर्छ, गर्छु। 

     तर, प्राप्त परिणाम र उपलब्धिकाे रक्षा गर्न र साे उपलब्धिलाई देश र जनहितका खातिर उपयोगी तुल्याउनुपर्नेमा सबैभन्दा ज्यादा चुकेकाे पनि फेरि माओवादी नै हाे । यसकाे मुख्य जिम्मेवारी माओवादीका तत्कालीन सबै नेतृत्वले लिनैपर्छ ।

   यसकारण त्यस यता इमान्दार कार्यकर्ता र साेझा सिधा मतदाता बाहेक माओवादीकाे शिर्ष नेतृत्वप्रति मेराे सदा विराेध रहँदै आएकाे छ । खासगरी अध्यक्ष पुष्पकमल दाहाल र उनका अन्धभक्त अनुयायी विराेधकाे केन्द्रमा रहने गरेका छन् । 

    माओवादी आन्दाेलन राष्ट्रिय हितकाे आन्दाेलनमा मात्रै सिमित रहन सकेन , याे कुरा सत्य हाे ।  सुरुवाती चरणदेखि सशस्त्र आन्दाेलनका दाैरान भनाैं या शान्ति प्रक्रियामा आइसकेपछिसम्म पनि धेरै अवसरवादीहरुकाे माओवादीमा संलग्नता र प्रवेश भएकाे छ । केही सुरुमा इमानका साथ लागेपनि कालान्तरमा व्यापक अवसरवादी बनेका पनि छन् ।

    नेकपा माओवादीमा करिब एकछत्र सबैभन्दा शिर्ष नेतृत्वमा रहेका पुष्पकमल दाहाल आफैं पदीय अवसरवाद र पछिल्लो समय व्यक्तिगत , पारिवारिक र आर्थिक अवसरवादमा डुबुल्की मार्न अग्रसर देखिएका उदाहरणहरु प्रशस्तै छन् ।

   त्यही अवसरवाद छाताछुल्ल देखिएपछि  माओवादीकाे विराेध हुने गरेकाे हाे, विराेध  गर्नुपरेकाे हाे ।

   जुन र जति जनधनकाे क्षति, त्रास र तनाव हामीले व्यहोर्नु परेकाे थियाे, त्यसबापत देश र जनताले वास्तविक रुपमा खुसी हुनेगरी जति अवसर र उपलब्धि हासिल गर्नुपर्ने थियाे , त्याे मुख्यगरी माओवादी नेतृत्वकै कारणले हुनसकेन भन्दा अत्याेक्ति हुन्छजस्ताे लाग्दैन ।

   अहिले त्यही माओवादीकाे अवसरवादी झुण्ड र त्यससँग मितेरी गाँस्न पुगेकाे नेकपा एमालेकाे कारबाहीमा परेका नेता माधवकुमार नेपाल नेतृत्वकाे समूह प्रमुख प्रतिपक्षी भन्दा ज्यादा अगाडि बढेर वर्तमान सरकारकाे विराेध गरिरहेछ । 

    खासगरी अहिले गण्डकी प्रदेश सरकारमा दिपक मनाङे भनिने राजीव गुरुङलाई मन्त्री बनाएकाे कुरामा वर्तमान सरकारकाे व्यापक विराेध भइरहेकाे छ । यसमा माओवादी अग्रपंक्तिमा छ ।

      हामी आफैंले बनाएकाे संविधान र त्यसले गरेकाे व्यवस्थानुसार बनाइएका नियम- कानुनका आधारमा राजीव गुरुङ 'उर्फ दिपक मनाङे'ले प्रदेश शभाकाे सांसदकाे उमेदवार बन्न पाएका हुन् । 

    'अपराधी पृष्ठभूमिकाे' भनेर सबै दलले टिकट दिन हिच्किचाइरहेकाे अवस्थामा स्वतन्त्र उठेर दिपक मनाङेले चुनाव जितेका हुन् । 

   'जहाँबाट जसरी पनि चुनाव लड्न र जित्नैपर्ने' राष्ट्रिय राजनीतिका एक दुई थान टाउके नेताले जस्ताे व्यापक धाँधली गरेर परिणाम उल्ट्याइ सांसद चुनिएका हाेइनन् उनी । मनाङ्का जनताले पत्याएर बहुमत दिइ उनलाई निर्वाचित गरेका हुन् । 

   यसर्थमा राजीव गुरुङ मन्त्री बनाइन नालायक मान्छे हाेइनन् । उनलाई मन्त्री बनाउँदा मनाङ्का जनताकाे सरकारमा प्रतिनिधित्व सुनिश्चित भएकाे छ ।

   दिपक मनाङेलाई मन्त्री बनाइयाे भनेर गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रधानमन्त्री केपी ओलीकाे विराेधमा राेइलाे गाउनु बेकार छ ।

    विराेध नै गर्ने हाे भने फाैजदारी अभियाेग लागेका र जघन्य अपराधी करार भैसकेकाहलाई उमेदवार बन्न छुट दिने कानुनकाे विराेध गराैं ।

    

   व्यक्तिगत स्वार्थमा हत्या ,लुटपाट, अपहरण आदिजस्ता जघन्य अपराध गरेकाले 'राजनीतिक मुद्दा'का नाममा उन्मुक्त भएर उच्च पदासिन हुन पाएका छन् हाम्रो मुलुकमा । 

    राज्यभर सार्वजनिक सम्पत्तिकाे विनाशलिला चलाएर दशाैं वर्ष देशव्यापी  आतङ्क फैलाएकाहरुले अझैसम्म सजाय नै भाेग्नुपरेकाे छैन । तिनीहरु मध्ये अधिकांशले केन्द्रदेखि स्थानीय तहका विभिन्न पदमा उमेदवार बन्न, डर, धाक र धम्कीद्वारा मनाेमानीपूर्ण ढङ्गले धाँधली गरेर चुनाव जित्न र पटक पटक सरकारका विभिन्न पदमा रहन पाएकै छन् । धेरै त राष्ट्रिय राजनीतिकाे उच्च सम्मानित पदहरुमा पनि बारम्बार पुगेका छन् , पदासिन छन् ।

   अनि आफुले गरेकाे अपराधकाे माैजुदा कानुनानुसार सजाय भुक्तान गरेका एक नेपाली नागरिकले स्वतन्त्र तवरमा चुनाव भिडेर मन्त्री बन्दा के काे राेइलाे ? 

    राेइलाे गान गर्नेहरुलाई मेराे सल्लाह छ:

 अहिले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरुकाे विराेधका लागि अरु धेरै मुद्दा छन् ।

१. जनअपेक्षानुरुप सरकारहरु चल्न सकिरहेका छैनन् । दलीय राजनीतिले सबै तहका सरकारहरु अफ्ट्यारो अवस्थामा छन् । आफू टिक्नु प्राथमिकताकाे विषय बनेकाे छ । विराेध त्यहाँ गराैं ।

 २. प्राथमिकता अनुसार बिस्तारै गर्दा हुने काममा सरकारकाे दिलचस्पी ज्यादा देखिइरहेकाे छ भने तत्कालै उच्च प्राथमिकताका साथ गर्नुपर्ने काममा सरकारहरुकाे ध्यान अझै नपुगिरहेकाे अवस्था छ। त्यहाँनेर झक्झक्याउनुपर्छ।

३. भ्रष्टाचार अझ नियन्त्रण भन्दा बाहिर छ । अनियमितता चर्काे छ । विराेध यस विषयमा गराैं ।

४. काेभिड महामारीको कारण विश्व आक्रान्त बनेकाे हालकाे परिप्रेक्ष्यमा जनतालाई सुरक्षा सावधानी अपनाउँदै सचेत रहन आग्रह गरेकाे भरले मात्रै सरकारकाे अभिभावकीय जिम्मेवारी पुरा हुँदैन । बच्न खाेज्दा खाेज्दै संक्रमित भइहाले उपचारकाे व्यवस्था राज्यले मिलाउनै पर्छ । याे बारे आवाज बुलन्द गराैं ।

५. सरकार टिकाउनका लागि राज्य विरुद्धको अपराधजस्ताे गम्भीर विषयमा मुद्दा खेपिरहेका र सजाय भाेगिरहेकाहरुकाे मुद्दा फिर्ता लिने काम भइरहेकाे छ, उनीहरु पुरस्कृत हुँदैछन् । यसकाे घाेर विराेध गराैं ।

६. लकडाउनले गर्दा व्यापार व्यावसाय बन्द छन्। आम्दानी ठप्प भएर अफ्ट्यारोमा परेकाहरुकाे बिचल्ली हुन थालिसकेकाे छ । यसमा जनताकाे अभिभावक सरकार उदासीन देखिएकाे छ । यसकाे विराेध गराैं ।

७. याे अवस्थाबाट राज्यकाे शिक्षा, स्वास्थ्य, राेजगारी,लगायत विकासका पूर्वाधार र  अर्थतन्त्रमा पर्ने प्रभाव न्युनीकरणकाे याेजना निर्माणमा सरकारकाे तदारुकता देखिँदैन । यसमा विराेध गराैं ।  

    सरकारका विराेध गर्न देश र जनतासँग प्रत्यक्ष सम्बद्ध यस्ता अन्य मुद्दाहरु प्रशस्तै हुँदाहुँदै मन्त्री नियुक्तिकाे फितलाे मुद्दामा अल्झिनु प्रतिपक्षी लगायत सबैका लागि हितकर छैन । 

    पुनश्च: देशमा संकट आइपर्दा सरकार मात्रै जिम्मेवार बनेर पुग्दैन । प्रतिपक्षी लगायत सबैकाे आ-आफ्नाे जिम्मेवारी हुन्छ र साे पूरा गर्नुपर्छ । खाली सरकारै मुख ताकेर र सरकारकाे विराेध गर्दैमा प्रतिपक्षी धर्म पूरा हुँदैन । 

   पहिला आफ्नाे काँधकाे भैंसी हेराैं अनिमात्र अर्काकाे आङकाे जुम्रा देखाआैं ।            

    समस्याकाे टुप्पाे काटे झन् झन् झाङ्गिएर बढ्ने खतरा हुन्छ । त्यसैले समस्याकाे जराे चिनाैं र जरैबाट उखेलेर फालाैं ।

     विराेधका लागि विराेध गर्न छाेडाैं ।

    वर्तमान संकटकाे सामना गर्न आ-आफ्ना ठाउँबाट सबै जिम्मेवार बनाैं।

                   - सुनील पाैडेल

No comments:

Post a Comment