Tuesday, August 4, 2020

जात र जनैबारे

 
   जातले ज्ञान प्राप्तिलाई छेक्दैन । अहिले कानुनतः बर्जित भएपनि समाजमा केही हदसम्म कायमै रहेकाे जातीय विभेदकाे व्यवस्थाले (शास्त्रीय) ज्ञान प्राप्तिकाे अवसरमा केही तलमाथि भने परेकाे छ।
   जातले ठूला काेही हुँदैनन् । अहिले ज्ञान हासिल गर्न जातले छेकेकाे छैन । जाे काेहीले ज्ञान आर्जन गरेर ज्ञानी बन्न पाउँछ।ज्ञानले ब्रम्हज्ञानकाे बाटाे देखाउँछ। यसर्थ अहिले सबैलाई ब्रम्हज्ञानी बन्ने छुट छ। 
  ब्रम्हज्ञान हुने सबेैले जनै लगाउँन पाउने व्यवस्था शास्त्रले गरेकाे छ । तर जनै धारण गर्ने ब्रम्हज्ञानीले लैंगिक र जातीय भेदभाव जस्ताे घृणित कर्म गर्दैनन् , सहँदैनन्; गर्नुहुँदैन, सहन पनि हुँदैन । 
   जनै धरेर जातीय र लैंगिक विभेद गर्नुहुँदैन भन्नेहरु ब्रम्हज्ञानी हुन् भने जनै धरेर पनि त्यस्ता भेदभावलाई प्रश्रय दिनेहरु मुर्ख मनुवा हुन्। लिङ्ग र जातकै आधारमा काेही जनै धारीले आफूलाई उच्च र अरुलाई नीच या तुच्छ ठान्छ भने ऊ ब्रम्हज्ञानी हाेइन र उसलाई जनै लाउने अधिकार पनि छैन। 
  जनै लाउनेलाई गाली गर्नु भनेकाे चाहिँ महा-मुर्खता हाे किनकि त्याे धागाे शुद्धता , पवित्रता र ज्ञानकाे डाेराे हाे भनिन्छ। जाे ज्ञानले निपुण छ, जसले आफ्नाे शरीरलाई शुद्ध र मनलाई पवित्र राख्न सक्छ, त्यस्ता जाे काेहीले पनि जनै धारण गर्न सक्तछन् । तर जाे अज्ञानी छ, अशुद्ध शरीर बाेक्छ र मनमा अपवित्र विचार पाल्छ उसले जनै लगाइ टाेपले पनि त्याे भने ढाेंग हाे । त्यस्ता व्यक्ति कथित 'उपल्लाे जात'का भनिए पनि ती जनैजस्ताे पवित्र धागाे लगाउन लायकका हुँदैनन्। 
   आफू पनि जनै लाउन याेग्य बन्नुका सट्टा जनैजस्ताे अनुशासनकाे डाेराेलाई गाली गरेर अनुशासनहिनता, अशुद्धता र अपवित्रतालाई प्रश्रय दिने र आत्मसात गर्न खाेज्नेहरु मध्ये कथित 'जनै लाउने जात' नै देख्दा भने मलाई ज्यादा अचम्म लाग्छ र मेराे ब्रम्हाण्डी तात्छ । 
   फरि यसाे भनिरहँदा जनै नलाउनेहरु चाहिँ सबै अशुद्ध तन र अपवित्र मन भएका अज्ञानी हुन्छन् भनेर मैले भन्न खाेजेकाे बिल्कुलै हाेइन नि ! जसले जनै धारण गर्नेहरु सबैलाई विभेदका पक्षधर देख्छन् र गाली दिन्छन्, ती सब आफैं बरु विभेदका पक्षपाती हुन् ।
     हाम्राे हिन्दु धर्म, धर्मशास्त्र र धार्मिक परम्परा र चालचलनकाे गलत व्याख्या भएकाे छ। हिन्दु धार्मिक संस्कारमा जातीय र लैंगिक विभेदपूर्ण कथन र परम्परा पहिले थिएन। धर्म र धर्मशास्त्रकाे व्याख्या गर्नेक्रममा अल्पज्ञानी,  स्वार्थी र दिग्भ्रमित कथित पण्डित र पुराेहित भनिने केही सिमित मुर्खहरुकाे अपव्याख्या र अरु महामुर्खहरुकाे धर्मभिरु साेचले यस्ताे विभेदकाे सुरुवात भएकाे हाे ।
    शास्त्रकाे पूर्ण ज्ञान नै नभइ वा बुझ पचाएर आफ्ना स्वार्थसिद्धि खाेज्न शास्त्रार्थ लगाइ टाेपल्नेहरुले हिन्दु धर्ममा लैंगिक र जातीय लगायत विभेदका परम्परागत साेचकाे विकास गराएका हुन् । नत्र मानिस मात्रै नभएर सम्पू्र्ण प्राणी अनि आकाश, वायु, जल, अग्नि, भूमि, अन्नपात, बाेट बिरुवा सबलाई सम्मान दिने हिन्दु धर्ममा जातीय विभेद कसरी घुस्न सक्छ ? 
     जनै 'जात' हुनेले लाउने हाेइन मुर्ख हाे । जनै त ज्ञान, त्याग, निष्ठा, भक्ति, शुद्धता, पवित्रता र अनुशासन हुनेले लाउने हाे ।
    यसर्थ जनैकाे उपहास गर्ने हाेइन । जनै र यसकाे परम्पराकाे अध्ययन , अनुसन्धान र अनुकरण गर्ने हाे । 
    जातीय विभेदकाे कारक जनै हाेइन , साेच हाे । बुझाैं । 
     
                        - सुनील पाैडेल

No comments:

Post a Comment