Tuesday, August 4, 2020

एक अयाेग्य लडाकुकाे गुनासाे

तिमीले
गोडा फाट् भन्यौ, मैले गोडा फाटेँ
सतर्क भन्यौ, म सतर्क बनेँ
अगाडि बढ् भन्यौ ,म अगाडि बढेँ
पछाडि हट् भन्यौ, म पछाडि हटेँ
सर्टिफिकेट फाल् भन्यौ मैले फालेँ
दस्ताबेज पढ् भन्यौ, मैले पढेँ
इतिहास पढ् भन्यौ, मैले पढेँ
समाज पढ् भन्यौ, मैले पढेँ
अरु कति कुराहरू तिमीले नभन्दा पनि पढेँ
......
तिमीले बन्दुक बोक् भन्यौ, मैले बोकेँ
कैयौं कुइन्टल भारी पनि बोकेँ
सहयोद्धाका अमर शरीर बोकेँ
घाइते शरीर बोकेँ
रक्तिम सन्देश बोकेँ
बोक्न त आजादहरुका प्यार पनि बोकेँ
जल्लादहरुका काला कर्तुत पनि बोकेँ
......
घर भनिएन
सम्पत्ति भनिएन
बाआमा भनिएन
प्रियसी भनिएन
पढाइ भनिएन
केवल भनियो त परिवर्तन
हिँडियो त मृत्युलाई हत्केलामा राखेर
भत्काइयो दुश्मनको जिल्ला
बनाइयो आफ्नै लाल किल्ला
जलाइयो बुर्जुवा किताबका पाना-पाना
बनाइयो सामन्तीलाई निशाना
.......
तिमीसँग आदेश दिन सक्ने क्षमता थियो
मसँग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो
......
मैले आदेश पालना गरेकै हुँ
आफ्नो कर्तव्य निभाएकै हुँ
भोक भोकै लडेकै हुँ
.......
त्यति बेला
मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमूल्य थियो
किनकी म भाँचिएको हात लिएर
बन्दुक चलाउन सक्थेँ
खुट्टामा गोलीका डल्ला बोकेर
अहोरात्र लड्न सक्थेँ
.......
तिमीले बन्दुक रोक् भन्ने बेलासम्म पनि
म तिम्रो लागि प्रिय नै थिएँ
किनकी म तिम्रा लागि सुरक्षा दिन सक्थेँ
तिमीलाई हरक्षण पहरा दिन सक्थेँ
......
तर जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौ
अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो
.....
जब मूल्य तोकियो
म जस्तै हजारौंलाई हाट बजारमा राखियो
तिमीले पठाएका
कैयौं ग्राहकहरु आए
अङ्ग अङ्ग जाचे
........
खुट्टामा गोली बोकेको म
भाँच्चिएको हात बोकेको म
अयोग्य बनेँ
.....
कमरेड !
कुनै बेला त्यही भाँच्चिएको मेरो
हात तिम्रा लागि प्यारो थियो होइन ?
गोली लागेको मेरो खुट्टा
तिम्रा लागि तन्दुरुस्त थिए होइन ?
म अमुल्य थिएँ होइन ?
म योग्य नै थिएँ होइन ?
तर म आज कसरी अयोग्य भएँ ?
.......
तिमीले भनेको मोर्चा सम्हालेकै हुँ
दुश्मनको किल्ला तोडेकै हुँ
तिमीलाइ गुन्द्रीबाट रातो कार्पेटसम्म पुर्‍याएकै हुँ
के त्यहाँ पुर्‍याउनु मेरो गल्ती थियो ?
मेरो अयोग्यताको कारण तिमी त्यहाँ पुगेका हौ ?
........
तिमीले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौ
तर मेरो चोटग्रस्त शरीर नापियो
मेरो शरीरको उचाइ नापियो
तौल नापियो
तर
खै त तिम्रो उचाइ नापिएको ?
खै त तिम्रो तौल नापिएको ?
खै त तिम्रो योग्यता नापिएको ?
........
केही पनि मापन गर्नै नपर्ने तिमी
योग्य
तिमीलाई नै योग्य बनाउन शरीरमा गोली बोक्ने
म कसरी अगोग्य भएँ ?

 केही वर्षअघि अज्ञात स्राेतबाट साभार, अहिले केही सामान्य सम्पादनसहित 'रिपाेष्ट' गरिएकाे हाे।   
              - सुनील पाैडेल

No comments:

Post a Comment