Friday, November 19, 2021

पत्रकार नानीराम नेपालप्रति अबिच्युरी

 अलविदा मामा कमरेड !


      नजिकैकाे गाउँठाउँ र उही बजारका भएकाले याे मान्छेसँग मेराे देखभेट पुरानै हाे । तर खासै गहिराे चिनाजानी, गफगाफ र भेटघाट हुँदैनथ्यो ।  ऊ बाेलेरै ज्यादा जान्ने पल्टिएको जस्ताे भान हुन्थ्याे मलाई सुरुसुरुमा । सार्वजनिक रुपमा अभिव्यक्त नगरेपनि म पनि  मनभित्र भित्रै आफु कम जान्ने छु जस्ताे नठान्ने मान्छे न परें । त्यसैले नानीरामसँग पहिला पहिला मेराे खासै घनिष्टता भने भएन । 

     उसले पत्रकारिता गर्न थालेदेखि मैले उसका बारेमा वास्ता गर्न थालेकाे थिएँ । किनकि म २०५८ साल देखि नै पत्रकारिताकाे एक विद्यार्थी र अध्येता हुँ। कम्तिमा आफ्नाे गृह जिल्लाकाे पत्रकारिता र पत्रकारबारे जानकार रहनु मेराे आवश्यक्ता पनि हाे । फेरि पाँच वर्ष यता मैले पत्रकारिता शिक्षण पनि सुरु गरेकाले ऊ मसँग पत्रकारिताका सिद्धान्त र व्यवहार बारे धेरै कुरा सिक्ने चाहना राख्न थालेकाे थियाे ।  म पनि श्रमजीवी पत्रकारहरुकाे जीवनशैली अध्ययनकाे प्रसंगमा उसकाे जीवन बुझ्ने प्रयासमा थिएँ । 

      त्यसैले पछिल्ला दुई वर्ष जब हामी केही सामिप्यतामा रह्योैं यसक्रममा मलाई याे मान्छे केही जान्नेसुन्ने नै हाे है भन्ने लाग्न थालेकाे थियाे । मैले उसमा एक याेग्य र सफल मान्छे बन्न सक्ने धेरै सम्भावनाहरु देख्न थालेकाे थिएँ ।

    पत्रकारिता कर्मका बारे कुरा हुँदा म उसलाई पक्षधरता रहित सन्तुलित पत्रकारिताकाे सिद्धान्त अवलम्बन गर्न सुझाउँथें । ऊ चाहिँ "पत्रकार पनि एक सचेत नागरिक भएकाेले उसले पनि कुनै राजनीतिक दलप्रति आस्था राख्न र साेही अनुसार विचार र व्यवहार गर्न पाउनुपर्छ" भनेर कड्किन्थ्याे । म उसलाई हाेइन भन्न सक्दिनथें । जवाफमा बस् यति भन्थें कि तिम्राे अधिकार जस्तै आम जनताकाे सही सूचना र जानकारी लिएर सुसूचित हुने अधिकारलाई तिमीले रक्षा गर्नुपर्छ । ऊ पनि हाेइन भन्दैनथ्याे । 

     म उसमा हल्का दलीय पक्षधरता र गटवाद देख्थें र व्यावसायिक पत्रकारितामा त्याे कुरा हानीकारक हुन्छ भनेर सल्लाह दिने गर्थें  । ऊ ओैंला पड्काउँदै धुवाँ उडीरहेकाे चुराेटकाे खारानी झारेर "मेराे पत्रकारितामा त्याे तपाईंले भनेकाे दलीय पक्षधरता र गुटगत पक्षपात कहाँ नेर झल्क्याे?" भनेर प्रतिप्रश्न गर्थ्याे ।

       पछिल्ला समय बेलाबखतकाे भेट र गफगाफमा ऊ मेराे कुरामा बिल्कुल सहमत हुन थालेकाे थियाे र म उसकाे कुरामा सहमति जनाउन थालेकाे थिएँ । घनिष्टता बढ्दै जाँदा ऊ मलाई  ''तपाईंको विचार , तर्क र कर्मकाे एउटा फ्यान नै बनेकाे छु'' भन्दै उकास्थ्याे ।  मैले चाहिँ उसका अगाडि मुख नखाेले  पनि उसलाई एक मिलनसार , तार्किक , निडर र लगनशील श्रमजीवी पत्रकारका रुपमा स्विकारिसकेकाे थिएँ ।

      उसलाई पहिले साेचेभन्दा अब्बल पाएकाले मैले भाइ भन्न छाेडेर सम्मान स्वरुप 'मामा कमरेड' भनेर सम्बाेधन गर्न थालेकाे हाराहारी एक वर्ष भएकाे थियाे । ऊ भने मलाई भान्जा नभनेर सधैं ''सुनील दाइ'' नै भन्थ्याे । पार्टी कार्यक्रममा भेट हुँदा हामी एक अर्कालाई स्वभाविक रुपमा कमरेड सम्बाेधन गर्ने गर्थ्याेैं।

        अस्ति राति नै फेसबुकमा धेरैले उसकाे देहावसानबारे पाेष्ट गरिसकेका रहेछन् । निद्राका कारण मैले याद पाएनछु । हिजाे बिहान उठ्नेबित्तिकै अचानक उही पत्रकार मामा कमरेडका बारेमा अकल्पनीय खबर सुन्न पुगें, 'नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव नानीराम नेपालकाे २०७८ साल मंसिर २ गते ३१ वर्षकाेअल्पायुमै हृदयघातका कारण मृत्यु भयाे ।'

      हुन त ' मेरकाे छाेराे सुबेदार उम्केकाे माछाे तीन धार्नी ' भन्ने उखान हाम्राे समाजमा प्रचलित छ । कुनै मान्छे जिवित छइञ्जेल उसकाे कि त केही वास्तै गरिँदैन या त उसका नकारात्मकताबारे ज्यादा चर्चा गरिन्छ र कुरा काटिन्छ । अनि जब साेही मान्छेकाे मृत्यु हुन्छ उसका कमजाेरीहरु बिर्सेर उसका सकारात्मकता खाेजिन्छ र उसकाे मरणमा दु:ख व्यक्त गरिन्छ ।

     मैले पनि ''पत्रकार मामा कमरेड '' नानीराम बाँचुन्जेल उसका बारे केही लेखिन । तर जब उसकाे असामयिक मरण भएकाे खबर पाएँ म अत्यन्त स्तब्ध भएँ । हिजाे दिनभर मेराे मन धरधरी राेयाे । मेरा हातहरु काँपिरहे र त मैले श्रद्धाञ्जली समेत लेख्न सकिन ।

        आज थाेरै हिम्मत जुटाएर जन्म पछि ढिलाे चाँडाे मरणकाे शाश्वत सत्यलाई आत्मसात गरी उही पत्रकार नानीराम नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै साेकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दैछु ।

      पत्रकार 'मामा कमरेड' नानीराम नेपालकाे मरण असाध्यै अकल्पनीय भयाे । हृदयघात सामान्यतः तुलनात्मक रुपमा माेटाे व्यक्तिलाई ४० वर्षकाे उमेर काटेपछि हुन्छ भन्ने गरिन्छ । तर उसमा याे कुरा लागू भएन ।  यति चाँडै याे दुर्घटना हाेला भनेर कल्पना गर्न उसमा कुनै किसिमकाे लक्षण देखिएकाे मैले थाहा पाएकाे थिइन । 

     मसँगकाे सामिप्यतामा मैले ठाने अनुसार ऊ चुराेट चाहिँ अलि बढी नै तान्थ्याे । शरीर पातलाे थियाे । खासजरी माेफसलका पत्रकारहरुकाे  खाना खाने समयकाे टुंगो हुँदैन । उसकाे हकमा पनि याे कुरा लागू  हुन्थ्याे । 

      के कारणले उसलाई 'जानलेवा' हृदयघात भाे त्याे खासै थाहा भएन तर त्याे हृदयघात उसकी श्रीमती, उसका लालावाला   छाेराछाेरी, उसका बाउआमा , नातागाेता र इष्टमित्रका लागि हृदय चहर्याउने किसिमकाे बन्याे ।

      जे नहुनुपर्थ्याे त्याे भयाे । सिन्धुपाल्चाेक जिल्ला मात्रै हाेइन सिङ्गाे नेपालकाे पत्रकारिता जगतले एक प्रतिभाशाली पत्रकार गुमाउनु परेकाे छ उसलाई गुमाउँदा । 

    प्रखर , तार्किक , प्रतिभाशाली , प्रभावशाली , क्षमतावान् , याेग्यता र सफलतातर्फ उन्मुख पत्रकार नानीराम नेपाललाई सिङ्गाे नेपालले सदा सम्झिरहनेछ ।

       अलविदा पत्रकार 'मामा कमरेड' नानीराम नेपाल । 

                - सुनील पाैडेल

No comments:

Post a Comment