Tuesday, January 4, 2022

आफ्नै मनकाे भँडास :

 आफ्नै मनकाे भँडास! 


     वास्तवमा अहिलेसम्म मैले न चाकरी प्रथालाई उचित ठानें न त कसैकाे चाकरी गर्न जानें । 

   खाली सहयाेगीहरुकाे साथ र शुभ चिन्तकहरुकाे सल्लाहमा आफ्नाे बल र बुँतामा आफ्नै तवर तरिकाले जीवन चलाउन ठीक ठानें ।

   आफ्नै भर परें । मनले अह्राएकाे गरें । यही पारामा असिमित तिता-मीठा अनुभवै अनुभवले जीवन भरें ।  ''दुनियाँलाई टाढा छाेड , आफ्नै मनलाई साेध'' गीतमा जस्तै ।

     बुझ्ने नहुँदैदेखि ममा यस्तै बानी परेछ सायद । थाेरै बुझ्ने भएदेखि यसाे गर्दै छु । अहिले अलि बुझ्ने भएँ कि जस्ताे लाग्छ तर उही आनीबानी फेरिएकाे छैन ।

  श्रदेय गायक स्वर सम्राट नारायण गाेपालकाे '' देवता त हाेइन म पनि, धेरै कमजाेरी छ मेराे पनि '' भन्ने गीतकाे अर्थ सतहमा मात्रै बुझ्ने बेलाकाे त्याे बचपनमै मलाई उक्त गीत असाध्यै मन पर्थ्याे ; अहिले यसकाे अन्तर्य मलाई झन् बढी सान्दर्भिक लाग्न थालेकाे छ । हरेक मानिसमा स्वभाविक रुपमा कमि कमजाेरीहरु हुन्छन् , ममा पनि पक्कै छ । 

    म कुनै पनि विषयमा खास दखल राख्दिन । एक आम मान्छे झैं प्रायःजसो विषयमा म 'एभरेज' हुँ भन्ने ठान्छु । 

      हुन त त्यस्ताे खास उम्दा अनुभव हुनेगरी कसैले माया या हेलाँ गरेकाे महशुस मलाई अहिलेसम्म भएकाे छैन । मैले पनि सकेसम्म नकारात्मकताकाे अपवाद बाहेक अहिलेसम्म कसैप्रति दुराग्रह, दुरासय र  दुर्भावना अपनाएकाे छैन । त्यसैले मप्रति कसैकाे दुराचारकाे भावना पक्कै छैन भन्नेमा म करिबकरिब ढुक्क छु ।

   तर पनि , कहीँ कतै कसैले मेराबारे केही नमीठो साेचेका , साँचेका, मानेका या ठानेका छन् भन्ने त्याे तिनैकाे नितान्त निजी धारणा हाे । यसले मेराे जीवनमा तात्त्विक फरक पार्लाजस्ताे लाग्दैन ।

     यति भनिरहँदा मलाई साथ, सहयाेग र हाैसला दिने र मप्रति सद्भाव , शुभेच्छा र सहानुभूति राख्ने तमाम आदरणीय मनहरुप्रति मेराे अन्तर हृदयदेखिकाे आभार छ र यसकाे निरन्तरताका लागि हार्दिक आग्रह र अनुराेध पनि गर्दछु । 

      आगे मलाई चिन्ने बुझ्ने वा मबारे मतलब नराख्ने निर्णयकाे जिम्मा तपाईंहरु आ-आफ्नै । 

     सबैकाे जय हाेस् !  - सुनील पाैडेल

No comments:

Post a Comment