सत्ताेन्मत्त वक्तव्य : एक नगर प्रमुखकाे मनाेदशा
म एक नगरपालिकाकाे निर्वाचित प्रमुख वा मेयर। मेराे विगत र वर्तमान जेसुकै - जस्ताेसुकै हाेस् , हाेस् । मेरा राजनीतिक जीवनमा मैैले गरेकाे याेगदान र मैले लिएका अवसरहरुबारे धेरै साेधी खाेजी नगर । अवसर पाएँ त पाएँ तिमीहरुलाई केकाे डाह ?
गत निर्वाचनमा पनि मैले टिकट जसरी हात पारेपनि , चुनाव जसरी जितेपनि जितें । तिमीहरुकाे सहयाेग थियाे भन्दैमा मैले तिमीहरुकै हित गर्नुपर्ने भन्ने के छ र ?
यस्ता नैतिकता र इमान्दारिताका कुरा मसँग नगर । अहिले म तिमीहरुकाे मेयर हुँ । मलाई मान । मेराे ज्यु हजुरी गर । नत्र तिमीहरुकाे भलाइ नहुन सक्छ।
बरु यहाँ मेराे एउटा कुरा सुन । कुरा बुझ र सिक ।
मेरा अतिनिकट एक विश्वासपात्र र कृपापात्र छन् जाे ठेकेदारी गर्छन् । २० लाखमा सजिलैसँग काम सम्पन्न हुनसक्ने सडक मर्मतकाे ठेक्का मेराे पालिकाले लगाउनुपर्ने भाे । प्रमुखका नातामा आफुले पनि त यसबाट फाइदा लिनै पर्याे , कमाउनै पर्याे ।
मैले साेही कामका लागि ५० लाख बजेट विनियोजन गरें । मेरा ती विश्वासपात्र ठेकेदारलाई उपभाेक्ता समितिकाे अध्यक्ष बनाएर सेटिङमा काम दिएँ । उनले कम गुणस्तरमा १५ लाखमै काम सम्पन्न गरिदिए । सेटिङकाे सल्लाह बमाेजिम नै बिल चाहिँ ४५ लाखकाे बिल पेश भाे ।
पूर्व शर्तानुसार मैले ४५ लाख नै भुक्तानी गराइदिएँ । ५० लाख बिनियाेजन गरेकाे काममा ४५ लाख मात्रै खर्च भुक्तानी भएपछि पाँच लाख नगरपालिकाकाे काेषमै रह्याे । खर्च हुने निश्चित भैसकेकाे रकम मध्ये पाँच लाख जाेगाएपछि भ्रष्टाचार गरेकाे शंका हुने कुरै भएन । कामकाे गुणस्तर जाँच्ने कसले ? ती प्राविधिक कर्मचारी मेराे आफ्नै छुठाे खाने जाे परे जसले लागत मुल्यांकन पनि मैले भने बमाेजिम नै गराएका थिए ।
सडक मर्मतकाे काम भाे । सडक उपभोक्ता खुसी भए । यता हामीलाई ३० लाख फाइदा पनि । तीन लाख रुपैयाँ समितिका अन्य सदस्यलाई मनाउन खर्च भयाे । ती पनि खुसी भए । दुई लाख रुपैयाँ बिल पास गराउने कर्मचारीले खुसी हुँदै खाए ।
अब नाफामा २५ लाख बच्याे । मेरा विश्वासपात्र ठेकेदार र मेराे २० लाख खुद बचाएर १० - १० लाख बाँड्ने शर्त थियाे । तर गुणस्तरहीन नै सही कम लागतमा काम सम्पन्न गरेकाले थप पाँच लाख हात पारियाे । मैले १५ लाख र उनले १० लाख रुपैयाँ भाग लगायाैं ।
नगरमा एउटा अस्पताल बन्दै थियाे । समाज सेवाकाे ढाेंग रच्न ती मेरा विश्वासपात्र ठेकेदारले एक लाख रुपैयाँ उक्त अस्पताललाई चन्दा दिए ।
मैले पाएकाे १५ लाख मध्ये मैले पनि मेरा बालाई दुई लाख दिएँ र साेही अस्पताललाई चन्दा हाल्न लगाएँ । बा समाजसेवीका रुपमा उक्त अस्पतालकाे निर्माण र व्यवस्थापनमा हर्ताकर्ता पनि बन्नुभाे ।
आमालाई एक लाख दिएँ । आमाले साे रकम चन्दा दिएर स्थानीय विद्यालयकाे संरक्षण र व्यवस्थापनमा प्रभाव जमाउन सक्ने बन्नु भाे।
एक लाख खर्चेर श्रीमतीका नाममा महिला उद्यमशील समूह खडा गराएँ । पछि नगरपालिकाकाे बजेट नारी उत्थानका नाममा खर्च गर्न सजिलाे हाेस् भनेर ।
मैले भाइ मार्फत स्थानीय एक सामाजिक संस्थालाई पनि एक लाख चन्दा दिन लगाएँ । भाइ पनि उक्त संस्थामा हालिमुहाली गर्ने बनिगाे ।
सडक मर्मतका नामकाे बजेटबाट मैले पाएकाे १५ लाख मध्ये जम्माजम्मी पाँच लाख मेराे समाजसेवाका नाममा खर्च भाे । मेराे परिवार स्थानीय समाजसेवीका रुपमा यसै दर्ज भइहाल्याे ।
दश लाख रुपैयाँ चाहिँ मलाई खुद मुनाफा भाे ।
यहाँ हेर्नाेस् त मैले नगरपालिका प्रमुखका रुपमा सडक मर्मतका नाममा बिनियाेजन गरेकाे रकमले के के भाे ?
१) ५० लाख खर्चेर १५ लाखकै भएपनि सडक मर्मतकाे काम भाे । अर्थतन्त्र केही हदसम्म चलायमान भाे । धेरथाेरले राजगारी पाए । सडक उपभोक्ता र काम पाउनेहरु खुसी भए ।
२) मेरा कृपापात्र र विश्वासपात्रले ९ लाख रकम बचाए । एक लाख चन्दा दिए, उनी समाजसेवी पनि बने । अब मलाई चाहिँदा उनी पहिलेभन्दा थप उपयाेगी बन्न सकछन् ।
३) मेरा बा, आमा , श्रीमती , भाइ समेत हाम्राे परिवार नै समाजसेवीमा दरियाे । सित्तैमा पाएकाे पन्ध्र मध्ये पाँच लाख रुपैयाँ खर्चेर समाजसेवाकाे ढाेंगमा हाम्राे परिवार अस्पताल, विद्यालय, महिला समुहदेखिका सामाजिक संस्थाहरुमा मुख्य प्रभावशाली बन्न सफल छ ।
४) यही एउटा कामबाट मैले १० लाख रूपैयाँ सम्पत्तिमा थप गरेकाे छु । यस्ता काम त मैले अहिलेसम्म कति गरेकाे छु कति । कुराे गरिसाध्य छैन ।
अब मलाई राजनीतिक दल, सिद्धान्त , आस्था , निष्ठा, नैतिकता , ईमानदारिता, नेता , कार्यकर्ता , मतदाता , जनता , देश , समाज , कसैकाे पर्वाह छैन ।
बस् ! मसँग सत्ता छ, शक्ति छ, धनसम्पत्ति छ । मेराे रवाफ छ , प्रभाव छ, मेरा मान्छे छन् । यही मेराे जवाफ छ ।
म फेरि पनि उठ्छु, जित्छु र हालिमुहाली गर्छु । मलाई गाउँ ठाउँ, साथीभाइ, आफन्त, इष्टमित्र, छरछिमेक, देश, जनता कसैकाे वास्ता र मतलब छैन । मलाई केही नभन, केही नसाेध । मबाट कुनै जवाफदेहिता नखाेज।
तिमीलाई मबाट फाइदा लिनु छ त मलाई मान , मेरा पछि लाग, मैले भनेकाे गर ।
मलाई प्रश्न गर्छाै, मेराे विराेध गर्छाै या मेरा विरुद्ध लाग्छाै भने तिमीलाई म अघि बढ्न दिने छैन । सकेकाे पेल्ने छु । तिम्राे अहितमा जे पनि गर्न पछि पर्ने छैन । मेराे रजगजमा तिमी बाधा बन्न आयाै भने तिमीमाथि जे पनि हुन सक्नेछ । यसकाे जिम्मेवार समाज, देश र जनता अनि सिद्धान्त , आस्था , ईमानदारिता, नैतिकता, जवाफदेहिता, विकास, अनुशासन र निस्वार्थ समाजसेवाकाे वकालत गर्ने तिमी आफैं हुनेछाै ।
(याे एक नगरप्रमुखकाे मनाेदशा र मनाेवाद त एउटा बिम्बात्मक प्रतीक मात्रै हाे । हाम्राे देशै भरकाे राजनीतिकाे, स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकार, बजेट बाँडफाँड र विकास निर्माण अनि भ्रष्टाचार र अनियमितता यही र यस्तै पारा र ढङ्गले चलेका छन् । त्यसैले नेपालकाे राजनीति सधैं नेपालीबाटै आलाेचित छ ।)
- सुनील पाैडेल
No comments:
Post a Comment