Wednesday, January 26, 2022

सत्ताेन्मत्त वक्तव्य : एक नगरप्रमुखकाे मनाेदशा


सत्ताेन्मत्त वक्तव्य : एक नगर प्रमुखकाे मनाेदशा


      म एक नगरपालिकाकाे निर्वाचित प्रमुख वा मेयर।  मेराे विगत र वर्तमान जेसुकै - जस्ताेसुकै हाेस् , हाेस् । मेरा राजनीतिक जीवनमा मैैले गरेकाे याेगदान र मैले लिएका अवसरहरुबारे धेरै साेधी खाेजी नगर । अवसर पाएँ त पाएँ तिमीहरुलाई केकाे डाह ? 

        गत निर्वाचनमा पनि मैले टिकट जसरी हात पारेपनि , चुनाव जसरी जितेपनि जितें । तिमीहरुकाे सहयाेग थियाे भन्दैमा मैले तिमीहरुकै हित गर्नुपर्ने भन्ने के छ र ? 

      यस्ता नैतिकता र इमान्दारिताका कुरा मसँग नगर । अहिले म तिमीहरुकाे मेयर हुँ । मलाई मान । मेराे ज्यु हजुरी गर । नत्र तिमीहरुकाे भलाइ नहुन सक्छ।  

     बरु यहाँ मेराे एउटा कुरा सुन । कुरा बुझ र  सिक । 


      मेरा अतिनिकट एक विश्वासपात्र र कृपापात्र छन् जाे ठेकेदारी गर्छन् । २० लाखमा सजिलैसँग काम सम्पन्न हुनसक्ने सडक मर्मतकाे ठेक्का मेराे पालिकाले लगाउनुपर्ने भाे । प्रमुखका नातामा आफुले पनि त यसबाट फाइदा लिनै पर्याे , कमाउनै पर्याे ।

    मैले साेही कामका लागि ५०  लाख  बजेट विनियोजन गरें । मेरा ती विश्वासपात्र ठेकेदारलाई उपभाेक्ता समितिकाे अध्यक्ष बनाएर सेटिङमा काम दिएँ । उनले कम गुणस्तरमा १५ लाखमै काम सम्पन्न गरिदिए ।  सेटिङकाे सल्लाह बमाेजिम नै बिल चाहिँ ४५ लाखकाे बिल पेश भाे ।

     पूर्व शर्तानुसार मैले ४५ लाख नै भुक्तानी गराइदिएँ ।  ५० लाख बिनियाेजन गरेकाे काममा ४५ लाख मात्रै खर्च भुक्तानी भएपछि पाँच लाख नगरपालिकाकाे काेषमै रह्याे । खर्च हुने निश्चित भैसकेकाे रकम मध्ये पाँच लाख जाेगाएपछि भ्रष्टाचार गरेकाे शंका हुने कुरै भएन । कामकाे गुणस्तर जाँच्ने कसले ? ती प्राविधिक कर्मचारी मेराे आफ्नै छुठाे खाने जाे परे जसले लागत मुल्यांकन पनि मैले भने बमाेजिम नै गराएका थिए ।

      सडक मर्मतकाे काम भाे । सडक उपभोक्ता खुसी भए ।  यता हामीलाई ३० लाख फाइदा पनि । तीन लाख रुपैयाँ समितिका अन्य सदस्यलाई मनाउन खर्च भयाे । ती पनि खुसी भए ।  दुई लाख रुपैयाँ  बिल पास गराउने कर्मचारीले खुसी हुँदै  खाए ।

      अब नाफामा २५ लाख बच्याे । मेरा विश्वासपात्र ठेकेदार र मेराे २० लाख खुद बचाएर १० - १० लाख बाँड्ने शर्त थियाे । तर गुणस्तरहीन नै सही कम लागतमा काम सम्पन्न गरेकाले थप पाँच लाख हात पारियाे ।  मैले १५ लाख र उनले १० लाख रुपैयाँ भाग लगायाैं ।

      नगरमा एउटा अस्पताल बन्दै थियाे । समाज सेवाकाे ढाेंग रच्न ती मेरा विश्वासपात्र ठेकेदारले एक लाख रुपैयाँ उक्त अस्पताललाई चन्दा दिए ।

      मैले पाएकाे १५ लाख मध्ये मैले पनि मेरा बालाई दुई लाख दिएँ र साेही अस्पताललाई चन्दा हाल्न लगाएँ । बा समाजसेवीका रुपमा उक्त अस्पतालकाे निर्माण र व्यवस्थापनमा हर्ताकर्ता पनि बन्नुभाे ।

     आमालाई एक लाख दिएँ । आमाले साे रकम चन्दा दिएर स्थानीय विद्यालयकाे संरक्षण र व्यवस्थापनमा प्रभाव जमाउन सक्ने बन्नु भाे।

      एक लाख खर्चेर श्रीमतीका नाममा महिला उद्यमशील समूह खडा गराएँ । पछि नगरपालिकाकाे बजेट नारी उत्थानका नाममा खर्च गर्न सजिलाे हाेस् भनेर ।  

      मैले भाइ मार्फत स्थानीय एक सामाजिक  संस्थालाई पनि एक लाख चन्दा दिन लगाएँ । भाइ पनि उक्त संस्थामा हालिमुहाली गर्ने बनिगाे ।

      सडक मर्मतका नामकाे बजेटबाट मैले पाएकाे १५ लाख मध्ये जम्माजम्मी पाँच लाख मेराे समाजसेवाका नाममा खर्च भाे । मेराे परिवार स्थानीय समाजसेवीका रुपमा यसै दर्ज भइहाल्याे ।

     

     दश लाख रुपैयाँ चाहिँ मलाई खुद मुनाफा भाे ।


     यहाँ हेर्नाेस् त  मैले नगरपालिका प्रमुखका रुपमा सडक मर्मतका नाममा बिनियाेजन गरेकाे रकमले के के भाे ?


१) ५० लाख खर्चेर १५  लाखकै भएपनि सडक मर्मतकाे काम भाे । अर्थतन्त्र केही हदसम्म चलायमान भाे । धेरथाेरले राजगारी पाए । सडक उपभोक्ता र काम पाउनेहरु खुसी भए ।

२) मेरा कृपापात्र र विश्वासपात्रले ९ लाख रकम बचाए । एक लाख चन्दा दिए, उनी समाजसेवी पनि बने । अब मलाई चाहिँदा उनी पहिलेभन्दा थप उपयाेगी बन्न सकछन् ।

३) मेरा बा, आमा , श्रीमती , भाइ समेत हाम्राे परिवार नै समाजसेवीमा दरियाे । सित्तैमा पाएकाे पन्ध्र मध्ये पाँच लाख रुपैयाँ खर्चेर समाजसेवाकाे ढाेंगमा हाम्राे परिवार अस्पताल, विद्यालय, महिला समुहदेखिका सामाजिक संस्थाहरुमा मुख्य प्रभावशाली बन्न सफल छ ।

४) यही एउटा कामबाट मैले १० लाख रूपैयाँ सम्पत्तिमा थप गरेकाे छु । यस्ता काम त मैले अहिलेसम्म कति गरेकाे छु कति । कुराे गरिसाध्य छैन ।

   

    अब मलाई राजनीतिक दल, सिद्धान्त , आस्था , निष्ठा, नैतिकता , ईमानदारिता, नेता , कार्यकर्ता , मतदाता , जनता , देश , समाज , कसैकाे पर्वाह छैन ।

    बस् ! मसँग सत्ता छ, शक्ति छ, धनसम्पत्ति छ । मेराे रवाफ छ , प्रभाव  छ, मेरा मान्छे छन् । यही मेराे जवाफ छ ।

     म फेरि पनि उठ्छु, जित्छु र हालिमुहाली गर्छु । मलाई गाउँ ठाउँ, साथीभाइ, आफन्त, इष्टमित्र, छरछिमेक, देश, जनता कसैकाे वास्ता र मतलब  छैन । मलाई केही नभन, केही नसाेध । मबाट कुनै जवाफदेहिता नखाेज।            

       तिमीलाई मबाट फाइदा लिनु छ त मलाई मान , मेरा पछि लाग, मैले भनेकाे गर । 

     मलाई प्रश्न गर्छाै, मेराे विराेध गर्छाै या मेरा विरुद्ध लाग्छाै भने तिमीलाई म अघि बढ्न दिने छैन । सकेकाे पेल्ने छु । तिम्राे अहितमा जे पनि गर्न पछि पर्ने छैन । मेराे रजगजमा तिमी बाधा बन्न आयाै भने तिमीमाथि जे पनि हुन सक्नेछ । यसकाे जिम्मेवार समाज, देश र जनता अनि सिद्धान्त , आस्था , ईमानदारिता, नैतिकता, जवाफदेहिता, विकास, अनुशासन र निस्वार्थ समाजसेवाकाे वकालत गर्ने तिमी आफैं हुनेछाै । 


        (याे एक नगरप्रमुखकाे मनाेदशा र मनाेवाद त एउटा बिम्बात्मक प्रतीक मात्रै हाे । हाम्राे देशै भरकाे राजनीतिकाे, स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकार, बजेट बाँडफाँड र विकास निर्माण अनि भ्रष्टाचार र अनियमितता यही र यस्तै पारा र ढङ्गले चलेका छन् । त्यसैले नेपालकाे राजनीति  सधैं नेपालीबाटै आलाेचित छ ।)

       

       - सुनील पाैडेल

Monday, January 24, 2022

व्यङ्ग्य मुक्तक : छ्या निर्लज्ज ठगबन्धन !

 व्यङ्ग्य मुक्तक : छ्या  निर्लज्ज ठगबन्धन ! 


गठबन्धनकाे गाँठाे फुस्किएपछि

त्याे 'ठगबन्धन'मा परिणत भएछ

त्यसैले त देश ठग्न , जनता ठग्न

ठगबन्धन मरिमेटेर लागि परिरहेछ ।


अरुलाई संविधान मिचिस् भन्थ्याे

ठगबन्धन आफैं पाे धेर कुल्चिन थाल्याे

एमाले फुटाउन विभाजन अध्यादेश ल्यायाे

भागबन्डामा मन्त्रालय संख्या झण्डै तेब्बर बनायाे ।


बाहिर बाहिर एक्सन देखाएर चर्चा बटुल्छन्

भित्र भित्रै सेटिङ मिलाएर अर्वाैं छ्याकन हसुर्छन्

ठगबन्धनका मन्त्रीहरु यतिसम्म अपराधी कि

मान्छे मार्छु र नरसंहार गर्छु भन्नेसम्मका मसुर छन् ।


सेटिङ सहित छ दलीय पाे छ याे ठगबन्धन

विदेशी दादागिरी र हस्तक्षेप विरुद्ध फिटिक्क  बाेल्दैन 

चाहे आफ्नाे सिमा मिचियाेस् वा नागरिक मारियाेस् 

ठगबन्धनले बरु भित्री कट्टु खाेल्न सक्छ तर मुख खाेल्दैन ।


ठगबन्धन संविधान मान्दै मान्दैन र त चुनाव सार्छु भन्छ

प्रजातन्त्र क्या हाे याे जान्दैन जसरी पनि एमाले हार्ने पार्छु भन्छ

एकका विरुद्ध सबै दल मिल्दा पनि नसकिने अवस्था आए

सत्तामा रजाइँ गरिरहन निर्वाचन मिति त महिना र वर्षाैं सार्छु भन्छ ।


छ्या ठगबन्धन !  याे त भयाे अति साह्रै  निर्लज्ज 

असक्षमता र निकम्मापनले भै गयाे याे त पुरै निर्वस्त्र

कसरी आशा मान्नु हामी निरिह नेपाली जनले यसकाे 

देश जनता मारेरै पनि याे ठगबन्धन खाेज्दैछ सत्तालिप्साकाे अस्त्र ।

Tuesday, January 4, 2022

आफ्नै मनकाे भँडास :

 आफ्नै मनकाे भँडास! 


     वास्तवमा अहिलेसम्म मैले न चाकरी प्रथालाई उचित ठानें न त कसैकाे चाकरी गर्न जानें । 

   खाली सहयाेगीहरुकाे साथ र शुभ चिन्तकहरुकाे सल्लाहमा आफ्नाे बल र बुँतामा आफ्नै तवर तरिकाले जीवन चलाउन ठीक ठानें ।

   आफ्नै भर परें । मनले अह्राएकाे गरें । यही पारामा असिमित तिता-मीठा अनुभवै अनुभवले जीवन भरें ।  ''दुनियाँलाई टाढा छाेड , आफ्नै मनलाई साेध'' गीतमा जस्तै ।

     बुझ्ने नहुँदैदेखि ममा यस्तै बानी परेछ सायद । थाेरै बुझ्ने भएदेखि यसाे गर्दै छु । अहिले अलि बुझ्ने भएँ कि जस्ताे लाग्छ तर उही आनीबानी फेरिएकाे छैन ।

  श्रदेय गायक स्वर सम्राट नारायण गाेपालकाे '' देवता त हाेइन म पनि, धेरै कमजाेरी छ मेराे पनि '' भन्ने गीतकाे अर्थ सतहमा मात्रै बुझ्ने बेलाकाे त्याे बचपनमै मलाई उक्त गीत असाध्यै मन पर्थ्याे ; अहिले यसकाे अन्तर्य मलाई झन् बढी सान्दर्भिक लाग्न थालेकाे छ । हरेक मानिसमा स्वभाविक रुपमा कमि कमजाेरीहरु हुन्छन् , ममा पनि पक्कै छ । 

    म कुनै पनि विषयमा खास दखल राख्दिन । एक आम मान्छे झैं प्रायःजसो विषयमा म 'एभरेज' हुँ भन्ने ठान्छु । 

      हुन त त्यस्ताे खास उम्दा अनुभव हुनेगरी कसैले माया या हेलाँ गरेकाे महशुस मलाई अहिलेसम्म भएकाे छैन । मैले पनि सकेसम्म नकारात्मकताकाे अपवाद बाहेक अहिलेसम्म कसैप्रति दुराग्रह, दुरासय र  दुर्भावना अपनाएकाे छैन । त्यसैले मप्रति कसैकाे दुराचारकाे भावना पक्कै छैन भन्नेमा म करिबकरिब ढुक्क छु ।

   तर पनि , कहीँ कतै कसैले मेराबारे केही नमीठो साेचेका , साँचेका, मानेका या ठानेका छन् भन्ने त्याे तिनैकाे नितान्त निजी धारणा हाे । यसले मेराे जीवनमा तात्त्विक फरक पार्लाजस्ताे लाग्दैन ।

     यति भनिरहँदा मलाई साथ, सहयाेग र हाैसला दिने र मप्रति सद्भाव , शुभेच्छा र सहानुभूति राख्ने तमाम आदरणीय मनहरुप्रति मेराे अन्तर हृदयदेखिकाे आभार छ र यसकाे निरन्तरताका लागि हार्दिक आग्रह र अनुराेध पनि गर्दछु । 

      आगे मलाई चिन्ने बुझ्ने वा मबारे मतलब नराख्ने निर्णयकाे जिम्मा तपाईंहरु आ-आफ्नै । 

     सबैकाे जय हाेस् !  - सुनील पाैडेल