Friday, July 17, 2020

नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ

आज मलाई एउटा कुरा बिन्ती गर्न देऊ 
 कस्तुरीलाई हिमालकाे शीरमा चर्न देऊ 
डाँफेलाई पहाडकाे भीरमा सर्न देऊ
गैंडालाई तराईको तिरमा झर्न देऊ 
मैं भिडाैंला देशमाथिकाे संकट टर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

पूर्खाले जाेगाएकाे मान गाैरव टिक्नुपर्छ 
धावा बाेल्ने विरुद्ध सक्दाे आँट झिक्नुपर्छ 
नेपाली सब एक भइ डटी लड्नुपर्छ 
वैरीजत्था परास्त गर्दै अघि बढ्नुपर्छ 
शत्रुजनलाई गलाउनु छ लागिपर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

काँतर कहलिइ बाँच्नुभन्दा राेज्छु बरु मरण 
भाेकै नाङ्गै लडि मर्छु केलाई पर्थें शरण 
 नेपालकाे सिमा मिच्ने वैरी छानीछानी 
जमिनमुनि भसाउनु छ शीरमा लात हानि 
सकल वैरीका शिर ताकि लात भर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

 ताराे ताक्छ नेपाल आमाप्रति काेही भने 
उम्लन्छ रगत शरीरभरि कसरी सहने 
छाती चिरी वैरीजनका रगत पिउन देऊ 
वीर बनि देशवासीका मनमा जिउन देऊ 
निमिट्यान्न बनाइ शत्रु संहार गर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

 -सुनील पाैडेल रचना मिति: २०७७-१-३१

No comments:

Post a Comment