Friday, July 3, 2020

नेकपा शिर्षस्थ नेताहरूलाई मेराे भन्नुु:

ओली कमरेडले स्वेच्छाचारी प्रवृत्ति त्यागेर आफ्ना सहयाेद्धा, सहयात्री र शुभेच्छुकहरुकाे कुरा सुन्नुपर्छ। किचेन क्याबिनेट तुरुन्तै भङ्ग गर्नुपर्छ। मैं हुँ भन्ने घमण्ड त्यागेर सहकर्मीका सल्लाहमा जनभावनाकाे उच्च कदर गर्दै अघि बढ्नुपर्छ।मरेर लानु केही छैन , सुखी नेपाल र समृद्ध नेपालीकाे नारालाई साँच्चिकै व्यवहारिक रुपमा चरितार्थ गराउन हरेक किसिमका त्याग गर्छु , आसेपासेकाे संकुचित घेराबाट माथि उठ्छु र समग्र नेपालकाे राजनेता बन्ने किसिमकाे काम गर्छु भन्ने बाटाेमा लम्कनुपर्छ।
   पुकदा 'प्रचण्ड' कमरेडले कपटपूर्ण दाउपेच छाेड्नुपर्छ । आफैं सदैब सत्ता शक्तिको केन्द्रमा रहनैपर्छ र राजनीतिक चलखेलमा  हावी हुनैपर्छ भन्ने दम्भ त्याग्नुपर्छ । भारतीय चासाे  सम्बाेधन गरेर शक्तिमा टिक्नमा भन्दा नेपालकाे राष्ट्रिय स्वार्थ पूरा गर्दा आफू शक्तिमा टिकिरहन सकिएनछ भने पनि नसकियाेस् भन्ने भावना राख्नुपर्छ । सत्ता शक्तिमा रहिएनछ नै भने पनि राष्ट्रिय हितका खातिर व्यक्तिगत, पारिवारिक र दलीय गुटगत स्वार्थ त्याग गर्दा जनमनमा उच्च आदरसाथ रहन सकिन्छ भन्ने सम्झनुपर्छ। सशस्त्र द्वन्द्वकाल र त्यसपश्चात देश र जनतालाई कस्ता सपना बाँडियाे तर कस्ताे किसिमले अघि बढियाे भन्ने हेक्का राखेर अब सुध्रिनुपर्छ ।
    माकुने र जेएन कमरेडहरुले शक्तिसंघर्षका नाउँमा ओली कमरेडमाथि बदलाभाव साँध्न छाेड्नुपर्छ। आफू शक्तिमा टिकिरहनका लागि ओली कमरेडकाे खुट्टा तान्नैपर्छ र यसका लागि प्रचण्डकाे कपटी दाउपेचलाई साथ दिनु परे पनि दिन्छु भन्ने खालकाे केटाकेटीपन चटक्कै छाेड्नुपर्छ । आफुहरु दल प्रमुख र सरकार प्रमुखका रुपमा परिक्षण भएर खासै उम्दा काम केही गर्न नसकेकाे कुरा स्वीकार गर्दै कम्तिमा प्रचण्ड स्वार्थबाट दल र देशलाई बचाउन अनि बाह्य हस्तक्षेप निरुत्साहित गर्न पनि वर्तमान सरकार टिक्नुपर्छ भन्ने बुझाइ राख्नुपर्छ र साेही अनुसार व्यवहार गर्नुपर्छ। 
   साँढेकाे फल झर्ला र खाउँला भनेर कुकुर बिराला पछि पछि लागेजस्ताे गरि सत्ता शक्तिकाे लाेभमा राल काडेर कहिले कसकाे कहिले कसकाे पछि लाग्ने सत्तालाेलुप अन्य नेता कमरेडहरुले पनि निजी स्वार्थ त्याग्नुपर्छ । देश र जनताकाे हितका खातिर लागिपरिरहे एक दिन हाम्राे पालाे आउँछ तर छिट्टै हतारिएर नेता विशेषका पछि लाग्दा राष्ट्रिय हितकाे स्वार्थ खतरामा पर्नसक्छ भन्ने हेक्का राखेर अघि बढ्नुपर्छ । 
     अहिलेलाई यत्ति। बाँकी आफैं बुझ्नु।   - सुनील पाैडेल

No comments:

Post a Comment