सिधा रुखलाई हुर्काउने र बाङ्गा रुखलाई ठुण्क्याउने बारे :
नातावाद र कृपापादमा दिलचस्पी राख्ने अहमतावादीहरु नेता र अन्धभक्त तर सही- गलतकाे भेद खुट्याउन नसक्ने अवसरवादी पिछलग्गु भराैटेहरु कार्यकर्ता अनि अनेक बिठ्याँइ, तिकडम र हाबीजाबी गरि खिचातानी र चलखेल गर्न जान्ने कुराैटेहरुकाे गुट र उपगुट रहुञ्जेल दलभित्र निकै चहलपहल देखिन्छ, झ्याउ र ऐँजेरु पलाएकाे बुढाे रुखजस्तै झाङ्गिएर हराभरा र ठूलो, बुझिनसक्नुकाे के-के हाे के- केजस्ताे
तर दलभने भित्र भित्रै कमजाेर बन्दै गइरहेकाे हुन्छ, धमिराले जरा र काण्डजति खाईसकेर चुराेमा धाेत्राे र माटाे बनेकाे खाेक्राे बुढाे रुखजस्तै ।
त्यस्ताे रुख एकदिन यति नराम्रोसँग गर्ल्यामगुर्लुम्म ढल्छ नि, ईन्द्रेकाे बाउ चन्द्रेले पनि थेगिरहन सक्तैन ।
जसरी एउटा रुखलाई जमिनमा दर्बिलाे पक्कड लिएका जराहरुले ठड्याउँछन् , बचाउँछन्, त्यसैगरी दललाई दर्शन र सिद्धान्त बुझेका र साेही अनुसार व्यबहार गर्ने निष्ठावान् कार्यकर्ताले जाेगाइरहने हाे ।
हाँगाबिँगाहरुले झ्याउ र ऐँजेरुहरुसँग मात्रै दाेस्ती गरिरहे तर पात र जराहरुलाई बिर्से भने पातहरु झर्छन् र जराहरु मर्छन् ; तब हाँगाबिँगा, झ्याउ र ऐँजेरुहरुसँगै ठूलाे भनाउँदाे धमिराले खाइसकेकाे कुहिएकाे रुख एकदिन बेकामे तवरमा गर्ल्याम गुर्लुम्मै ढल्छ ।
हामीले दलरुपी रुखलाई ठुलाे र झाङ्गिएकाे मात्रै बनाएर पुग्दैन। त्यसलाई उचित काँटछाँट, छासछुस् पनि गर्नसक्नुपर्छ । छाडाे महिनामा ओग परेकाे छ भने नङ्याउनुपर्छ , ओग हटाउनुपर्छ । गर्मी याममा शीतलता लिन झङ्याउन जान्नुपर्छ। रुख शीतलता र फलफुलले हराभरा छ छैन, काठ दाउरालाई काम लाग्ने उपयाेगी हाे हैन, बेला बेला विचार गरिरहनुपर्छ । माैका र अवस्थानुसार ढाल्नुपर्ने पनि हुन सक्छ।
बिना उपयाेगकाे रुखप्रतिकाे माया र माेहमा अडिएर रुखलाई अनुपयाेगी बनाएर कुहिएर गर्लम्म ढलेकाे हेरिरहनु बेकार छ ।
सबैले हेक्का राखाैं । - सुनील पाैडेल
( एक वर्ष अघिकाे आफ्नै पाेष्टबाट)
No comments:
Post a Comment