Friday, December 18, 2020

शक्तिपुजक सम्माननीय, तपाईंलाई संवैधानिक गरिमाकाे हेक्का छ ?

 शक्तिपुजक सम्माननीय, तपाईंलाई संवैधानिक गरिमाकाे हेक्का छ ? 


   काेही काेही महाेदयले 'संविधानलाई प्रचण्ड भन्दा माथि नठानकाे' अभिव्यक्ति दिएकाे बजार हल्ला सुनियाे । 

   हल्ला हल्लै मात्रै हाे भने अनावश्यक तुच्छ बजार हल्ला चलाउनेलाई म थुक्क भन्न चाहन्छु । तर यदि हावा चलेरै पात हल्लिएकाे हाे भने चाहिँ महाेदयकाे संविधान विराेधी अभिव्यक्तिकाे बदलामा मैले धिक्कार हाेस् भन्न चाहेँ ।

   संविधान देशकाे मुल कानुन हाे ।  संविधानसँग बाझिएको हदसम्म कुनै पनि कानुन स्वतः खारेज हुन्छ । 

   संविधानसँगकाे तुलना कुनै एक गाैण नेता विशेषसँग गर्नु सरासर निरंकुशता र व्यक्तितन्त्रकाे पक्षपाेषण गर्नु हाे । त्यसमाथि राजा र राजसंस्था फालेर संघिय लाेकतान्त्रिक गणतन्त्र स्थापनाका लागि लडेका हाैं, संविधान सभाका लागि लडेका हाैं र हाम्रै बुँतामा मात्रै याे उपलब्धि प्राप्त भएकाे हाे भनेर दम्भ गर्नेहरुले नै संविधानसभाले निर्माण गरेकाे संविधानभन्दा माथि काेही व्यक्तिलाई देख्नु लज्जास्पद र अझ बढ्ता निर्लज्जताकाे पराकाष्ठा हाे ।   

    लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा राज्य सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्ने जनप्रतिनिधिहरुकाे सभाकाे मियाेले यदि यस किसिमकाे संविधान विराेधी र निरंकुश व्यक्तिवादी वक्तव्यबाजि गरेकाे हाे नै भने त्यसकाे भर्त्सना जति गरेपनि कम हुन्छ ।

    संविधानकाे गरिमाम‌ै आँच आउने खालकाे अभिव्यक्ति दिनेलाई संवैधानिक व्यवस्था बमाेजिम सम्माननीय पदमा बहाल रहने कुनै अधिकार हुनुपर्छ जस्ताे मलाई लाग्दैन । 

   'मीतआमा'काे गुणगान र शक्तिपूजनका खातिर मातृभूमिप्रतिकाे अवमूल्यन कदापि सह्य हुन सक्तैन । सम्माननीय महाेदयकाे बेलैमा चेत खुलाेस् । 

                       -  सुनील पाैडेल

No comments:

Post a Comment