Wednesday, December 2, 2020

राजनीतिक वेश्यावृत्ति :

 राजनीतिक वेश्यावृत्ति :


    खासमा राजनीतिलाई नै मूल कर्म बनाएर हिँड्नेहरुकाे चरित्र (महिला विरुद्धको विभेदी वाच्य नबनाेस्) वेश्या तुल्य हुनेगर्छ। जाेसँग पनि जस्ताेसुकै परिस्थितिमा पनि लढ्नैपर्ने ।  

   एक वेश्या बाँच्नका लागि संघर्षकाे नाममा, जीवन गुजाराका नाममा  आय-आर्जनका लागि जहाँ जस्ताेसुकै मनाेभावनामा पनि कमाउनकै लागि लिडिदिन्छे । तर उसले वेश्या गमन गर्नेलाई क्षणिक याेनानन्द प्रदान गरेर सेवा पनि गरेकी हुन्छे । 

   एक पूर्णकालीन राजनीतिकर्मी पनि देश र जनताका नाममा, अधिकार प्राप्तिका लागि संघर्ष गर्ने नाममा हरेक परिस्थितिसँग जुझेर जीवनभर लडिरहन्छ/छे । इमानकाे राजनीति गर्ने हाे भने उसकाे हण्डर र संघर्ष एक वेश्याकाे भन्दा पनि कठिनाइपूर्ण हुन्छ ।

     तर, जब एक राजनीतिकर्मी आफ्नाे कर्मलाई सेवा भन्दा व्यापार र आम्दानीकाे स्राेत ठान्न थाल्छ तब ऊ एक वेश्या भन्दा पनि तुच्छ र नीचो बन्न पुग्छ ।

   परिवेश अनुसार दुनियाँका नजरमा वेश्या धेरै घृणित हुन सक्ली तर कतिपय ठाउँ र देशमा वेश्याकाे पनि याैनकर्मीका नाममा  कानुनी रितमै इज्जत, प्रतिष्ठा र उसकाे व्यावसायकाे संरक्षण छ। 

   तर कमाउ धन्दामा लागेकाे एक राजनीतिकर्मीकाे दुनियाँभर एक वेश्याकाे जति पनि इज्जत छैन । उसकाे कमाउ धन्दा कानुनी तवरमा एक अक्षम्य अपराध हाे । 

    याैन बजारमा वेश्या बिक्रेता पक्ष हाे , उसका ग्राहक नभइ याैन व्यावसाय चल्दैन । याैन बजारमा वेश्या र वेश्यागमनकारी बिचमा याैन दलालहरु रहन्छने गर्छन् जसले दुबै पक्षबिच खेलेर रकमी फाइदा असुलछन् । 

    बरु याैन दलालकाे पनि इज्जत छ तर राजनीतिक दलालकाे दुनियाँमा कहीँ कतै इज्जत छैन , मान छैन । 

   अहिले हाम्राे देशमा राजनीति कमाउ धन्दा बनेकाे छ । राजनीतिक दलालहरुले वेश्याले धन्दा चलाए भन्दा बढ्ता कमाउने ठाउँ भेटेका छन् । धन्दावालाका आसेपासेले वेश्यागमनकारीले भन्दा बढ्ता रमाउने ठाउँ भेटेका छन् ।  राजनीति वेश्यावृत्ति भन्दा बढ्ता घृणित बनेकाे छ ।

    राजनीति ढलमलमा छ । जनता रनभुल्लमा छन्। देश झन् अलमलमा छ । रनभुल्ल जनता भएका अलमल्ल देशमा राजनीतिक चलमल गर्ने नेता र कार्यकर्ता चाहिँ  सधैं मलमलकाे ओछ्यानमा ढलमल गर्दै मेवामिष्ठान्नमा मख्ख छन् । 

   यही परिस्थितिले सर्वदा निराश बनाउँछ । कठै हामी नेपाली जनता !   

               - सुनील पाैडेल

No comments:

Post a Comment