Friday, November 19, 2021

पत्रकार नानीराम नेपालप्रति अबिच्युरी

 अलविदा मामा कमरेड !


      नजिकैकाे गाउँठाउँ र उही बजारका भएकाले याे मान्छेसँग मेराे देखभेट पुरानै हाे । तर खासै गहिराे चिनाजानी, गफगाफ र भेटघाट हुँदैनथ्यो ।  ऊ बाेलेरै ज्यादा जान्ने पल्टिएको जस्ताे भान हुन्थ्याे मलाई सुरुसुरुमा । सार्वजनिक रुपमा अभिव्यक्त नगरेपनि म पनि  मनभित्र भित्रै आफु कम जान्ने छु जस्ताे नठान्ने मान्छे न परें । त्यसैले नानीरामसँग पहिला पहिला मेराे खासै घनिष्टता भने भएन । 

     उसले पत्रकारिता गर्न थालेदेखि मैले उसका बारेमा वास्ता गर्न थालेकाे थिएँ । किनकि म २०५८ साल देखि नै पत्रकारिताकाे एक विद्यार्थी र अध्येता हुँ। कम्तिमा आफ्नाे गृह जिल्लाकाे पत्रकारिता र पत्रकारबारे जानकार रहनु मेराे आवश्यक्ता पनि हाे । फेरि पाँच वर्ष यता मैले पत्रकारिता शिक्षण पनि सुरु गरेकाले ऊ मसँग पत्रकारिताका सिद्धान्त र व्यवहार बारे धेरै कुरा सिक्ने चाहना राख्न थालेकाे थियाे ।  म पनि श्रमजीवी पत्रकारहरुकाे जीवनशैली अध्ययनकाे प्रसंगमा उसकाे जीवन बुझ्ने प्रयासमा थिएँ । 

      त्यसैले पछिल्ला दुई वर्ष जब हामी केही सामिप्यतामा रह्योैं यसक्रममा मलाई याे मान्छे केही जान्नेसुन्ने नै हाे है भन्ने लाग्न थालेकाे थियाे । मैले उसमा एक याेग्य र सफल मान्छे बन्न सक्ने धेरै सम्भावनाहरु देख्न थालेकाे थिएँ ।

    पत्रकारिता कर्मका बारे कुरा हुँदा म उसलाई पक्षधरता रहित सन्तुलित पत्रकारिताकाे सिद्धान्त अवलम्बन गर्न सुझाउँथें । ऊ चाहिँ "पत्रकार पनि एक सचेत नागरिक भएकाेले उसले पनि कुनै राजनीतिक दलप्रति आस्था राख्न र साेही अनुसार विचार र व्यवहार गर्न पाउनुपर्छ" भनेर कड्किन्थ्याे । म उसलाई हाेइन भन्न सक्दिनथें । जवाफमा बस् यति भन्थें कि तिम्राे अधिकार जस्तै आम जनताकाे सही सूचना र जानकारी लिएर सुसूचित हुने अधिकारलाई तिमीले रक्षा गर्नुपर्छ । ऊ पनि हाेइन भन्दैनथ्याे । 

     म उसमा हल्का दलीय पक्षधरता र गटवाद देख्थें र व्यावसायिक पत्रकारितामा त्याे कुरा हानीकारक हुन्छ भनेर सल्लाह दिने गर्थें  । ऊ ओैंला पड्काउँदै धुवाँ उडीरहेकाे चुराेटकाे खारानी झारेर "मेराे पत्रकारितामा त्याे तपाईंले भनेकाे दलीय पक्षधरता र गुटगत पक्षपात कहाँ नेर झल्क्याे?" भनेर प्रतिप्रश्न गर्थ्याे ।

       पछिल्ला समय बेलाबखतकाे भेट र गफगाफमा ऊ मेराे कुरामा बिल्कुल सहमत हुन थालेकाे थियाे र म उसकाे कुरामा सहमति जनाउन थालेकाे थिएँ । घनिष्टता बढ्दै जाँदा ऊ मलाई  ''तपाईंको विचार , तर्क र कर्मकाे एउटा फ्यान नै बनेकाे छु'' भन्दै उकास्थ्याे ।  मैले चाहिँ उसका अगाडि मुख नखाेले  पनि उसलाई एक मिलनसार , तार्किक , निडर र लगनशील श्रमजीवी पत्रकारका रुपमा स्विकारिसकेकाे थिएँ ।

      उसलाई पहिले साेचेभन्दा अब्बल पाएकाले मैले भाइ भन्न छाेडेर सम्मान स्वरुप 'मामा कमरेड' भनेर सम्बाेधन गर्न थालेकाे हाराहारी एक वर्ष भएकाे थियाे । ऊ भने मलाई भान्जा नभनेर सधैं ''सुनील दाइ'' नै भन्थ्याे । पार्टी कार्यक्रममा भेट हुँदा हामी एक अर्कालाई स्वभाविक रुपमा कमरेड सम्बाेधन गर्ने गर्थ्याेैं।

        अस्ति राति नै फेसबुकमा धेरैले उसकाे देहावसानबारे पाेष्ट गरिसकेका रहेछन् । निद्राका कारण मैले याद पाएनछु । हिजाे बिहान उठ्नेबित्तिकै अचानक उही पत्रकार मामा कमरेडका बारेमा अकल्पनीय खबर सुन्न पुगें, 'नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव नानीराम नेपालकाे २०७८ साल मंसिर २ गते ३१ वर्षकाेअल्पायुमै हृदयघातका कारण मृत्यु भयाे ।'

      हुन त ' मेरकाे छाेराे सुबेदार उम्केकाे माछाे तीन धार्नी ' भन्ने उखान हाम्राे समाजमा प्रचलित छ । कुनै मान्छे जिवित छइञ्जेल उसकाे कि त केही वास्तै गरिँदैन या त उसका नकारात्मकताबारे ज्यादा चर्चा गरिन्छ र कुरा काटिन्छ । अनि जब साेही मान्छेकाे मृत्यु हुन्छ उसका कमजाेरीहरु बिर्सेर उसका सकारात्मकता खाेजिन्छ र उसकाे मरणमा दु:ख व्यक्त गरिन्छ ।

     मैले पनि ''पत्रकार मामा कमरेड '' नानीराम बाँचुन्जेल उसका बारे केही लेखिन । तर जब उसकाे असामयिक मरण भएकाे खबर पाएँ म अत्यन्त स्तब्ध भएँ । हिजाे दिनभर मेराे मन धरधरी राेयाे । मेरा हातहरु काँपिरहे र त मैले श्रद्धाञ्जली समेत लेख्न सकिन ।

        आज थाेरै हिम्मत जुटाएर जन्म पछि ढिलाे चाँडाे मरणकाे शाश्वत सत्यलाई आत्मसात गरी उही पत्रकार नानीराम नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै साेकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दैछु ।

      पत्रकार 'मामा कमरेड' नानीराम नेपालकाे मरण असाध्यै अकल्पनीय भयाे । हृदयघात सामान्यतः तुलनात्मक रुपमा माेटाे व्यक्तिलाई ४० वर्षकाे उमेर काटेपछि हुन्छ भन्ने गरिन्छ । तर उसमा याे कुरा लागू भएन ।  यति चाँडै याे दुर्घटना हाेला भनेर कल्पना गर्न उसमा कुनै किसिमकाे लक्षण देखिएकाे मैले थाहा पाएकाे थिइन । 

     मसँगकाे सामिप्यतामा मैले ठाने अनुसार ऊ चुराेट चाहिँ अलि बढी नै तान्थ्याे । शरीर पातलाे थियाे । खासजरी माेफसलका पत्रकारहरुकाे  खाना खाने समयकाे टुंगो हुँदैन । उसकाे हकमा पनि याे कुरा लागू  हुन्थ्याे । 

      के कारणले उसलाई 'जानलेवा' हृदयघात भाे त्याे खासै थाहा भएन तर त्याे हृदयघात उसकी श्रीमती, उसका लालावाला   छाेराछाेरी, उसका बाउआमा , नातागाेता र इष्टमित्रका लागि हृदय चहर्याउने किसिमकाे बन्याे ।

      जे नहुनुपर्थ्याे त्याे भयाे । सिन्धुपाल्चाेक जिल्ला मात्रै हाेइन सिङ्गाे नेपालकाे पत्रकारिता जगतले एक प्रतिभाशाली पत्रकार गुमाउनु परेकाे छ उसलाई गुमाउँदा । 

    प्रखर , तार्किक , प्रतिभाशाली , प्रभावशाली , क्षमतावान् , याेग्यता र सफलतातर्फ उन्मुख पत्रकार नानीराम नेपाललाई सिङ्गाे नेपालले सदा सम्झिरहनेछ ।

       अलविदा पत्रकार 'मामा कमरेड' नानीराम नेपाल । 

                - सुनील पाैडेल

Friday, September 17, 2021

फाेस्राे समाजवाद !

 हजुरबा माकुनेलाई बहुत जान्थे।

बुबाले  मनकुनेलाई खुब  मान्थे।।
माकुनेका बाली घरमा सबले खान्थे ।।।
सबले माकुनेलाई ठूला नेता ठान्थे।।।।


तर यथार्थ बल्ल बुझ्न थालियाे कि,

माकुने त जालझेलका पाेका रहेछन्।
अख्तियारीवाला पदका भाेका रहेछन् ।।
कुण्ठाका कहिल्यै नफुक्ने पाेका रहेछन् ।।।
कहिल्यै तहमा नबस्ने फुकुवा बाेका रहेछन् ।।।।

अहिले यसाे हेरेकाे कि,

घरका कालुहरु चुक्दा रहेछन्।
गाउँका जालुहरु लुक्दा  रहेछन् ।।
समाजका चालुहरु भुक्दा रहेछन् ।।।
देशका बडा बडा ठालुहरु सुक्दा रहेछन्।।।।


खासमा भएकाे के हाे भने,

विपक्षीले राेमान्स साेचे ।
लाेभीहरुले चान्स खाेजे ।।
भाेगीहरुले डान्स राेजे ।।।

अब हुने चाहिँ के हाे भने,

धक्कु लगाउन पर्दैन ।
आस्थाले डुलेर चर्दैन ।।
कुण्ठाले रहर भर्दैन ।।।

दृढ विश्वास गल्दैन ।
विश्वासकाे धराेहर ढल्दैन ।।
आस्थाकाे कुन्यु बल्दैन ।।।
कुण्ठाकाे दलबल चल्दैन।।।।

त्यसैले म सबैलाई भन्छु कि;

माकुनेले चाहेर,
चारकुने किताब पाएर,
तिनकुने 'अफिस' धाएर,
दुईकुने मुख लाएर,
एककुने कुण्ठा गाएर,

पाेखिए खाजा खाईँदैन ।
जानेलाई माया लाईँदैन ।।
राेएर जनमत पाईँदैन ।।।

यसै त दल चाहिने भन्दा बढी छन् भने;

नलगाऊँ कुण्ठासँग मीत ।
एसले गर्दैन देशकाे हित।।
गाईँदैन फाेस्राे समाजवादी गीत ।।।

किन याे निर्णय गरियाे भने,

निकम्मा संसद विघटन 'केस' ।
बदला ब्युँताउने अभिष्ट 'रेस'काे।।
स्वार्थकाे गठजाेड विपक्ष देश।।।
बन्याे नयाँ दल नाम जुराए 'एस'काे।।।।

बनाउन देश, दाैडे पाे 'रेस',
जितिन्थ्याे 'केस', जाेगिन्थ्याे 'फेस'।
जनताबिच पेश, नेकपा एस ।।

माकुनेले साँचे कुण्ठाकाे पाेकाे।
पछि लाग्नेहरु बलीकाे बाेकाे ।।
समय छँदै विचार गराैं।।।
नीति न थितिकाे भर पर्दै नपराैं ।।।। 

Monday, September 6, 2021

सर्वदेवतामय: पिता ( पिता सर्वदेवतातूल्य छन् )

 सर्वदेवतामय: पिता ( पिता  सर्वदेवतातूल्य छन् )


विद्यादाता, जन्मदाता, कन्यादाता तथैव च

अन्नदाता, भयत्राता पञ्चैते पितर स्मृता : ।

अत : सर्वगुणसम्पन्न पिता: ।


{विद्या दिने (गुरु), जन्मदिने (मातापिता), कन्या दिने (कर्मदाता पितामाता/ सासूससुरा), अन्नदिने ( अन्नदाता  वा पालनपाेषण गर्ने ( पालनकर्ता) र भयबाट रक्षा गर्ने अर्थात् डर-त्रासबाट मुक्त राख्ने पाँच व्यक्ति नै पञ्चपिता हुन् ।} पञ्चपिताका यी सम्पूर्ण गुण पितामा हुन्छ । त्यसैले पिता सर्वगुणसम्पन्न हुन्छन् ।


पिता धर्म: पिता स्वर्ग: पिता हि परमं तप: ।

पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवता: ।।

पितराै यस्य तृप्यन्ति सेवया च गुणेन च ।

तस्य भागीरथीस्नान महन्यहनि वर्तते ।।


( पिता धर्म हुन्, पिता स्वर्ग हुन् र पिता नै सबैभन्दा ठूलाे तपस्या हुन् । पिता प्रसन्न भएमा सम्पूर्ण देवताहरु खुसी हुन्छन् । पितालाई आफ्नाे सद्गुण र सेवाले सधैं सन्तुष्ट राख्न सक्ने सन्तानलाई हरेकदिन गंगास्नान गरेकाे पुण्य मिल्छ । ) 


बैकुण्ठधामवासी हजुरबुबालाई श्रद्धाञ्जली र सम्झना । पिता  र  पितातुल्य काकाबाहरुलाई ढाेग प्रणाम र शुभकामना ।

   पिता या बाहरुकाे 'चेन'मा आफूलाई बा (बाबा) भन्ने हाम्राे परिवारकाे पछिल्लाे पुस्ता भने कुशेओेैंशीकाे महत्त्व बुझ्नसक्ने भइसकेकाे छैन । उसलाई पनि शुभकामना । 

     यसका साथै सबैलाई पितृश्रद्धाकाे पावन दिन कुशेओैंशीकाे उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना । 

                          - सुनील पाैडेल

संसद विघटन र एमसीसी खुलेयाम कि लुकिछिपी ?

 संसद विघटन र एमसीसी

खुलेयाम कि लुकिछिपी ? 

    

     हुन त याे काेणबाट आफ्नाे कदमकाे बचाउ र  प्रष्ट्याईँ गर्न स्वयं केपी ओली नै पनि चाहिरहेका र सकिरहेका छैनन् । संसद विघटनकाे ओेेेेैचित्य पुष्टि गर्न ओली सफल भइनरहेका भएपनि मलाई चाहिँ के लाग्छ भने ;           

    राष्ट्रियताका मुद्दामा नेपाल सरकार जुनबेला पनि एकरुप छ भन्ने सन्देश विश्वव्यापी हुनु नेपालका लागि दुरगामी रुपमा हितकर हाे, कि हाेइन ?               

    यही आसयमा पूर्ववर्ति सरकारकाे कार्यकालमै भएकाे भएपनि राष्ट्रिय  महत्वका अन्तर्राष्ट्रिय सम्झाैताहरु लागू गराउँदा अन्तर्राष्ट्रिय जगतमा नेपाल र नपाली राष्ट्रियताकाे एकरुपताकाे  परिचय विश्वसामु स्थापित हुन्छ भन्ने केपी ओलीले ठानेका थिए ।

       त्यसैले संसदबाटै एमसीसी पास गराउनुपर्ने दबाबमा ओली सरकार पनि थियाे । तदनुरुप ओलीले वातावरण बनाउन खाेजेका पनि हुन् । 

       तर एमसीसीका कारण दुरगामी रुपमा नेपालकाे अहित हुने केही बुँदा सम्झाैतामा उल्लेख भएकाे पाइएकाले जनस्तरबाट व्यापक विराेध भएपछि ओलीले एमसीसीलाई संसदबाट पारित गराउन चाहेनन् । राष्ट्रियता र जनभावनाकै जगमा एमाले अध्यक्ष र प्रधानमन्त्री बनेका ओली दलीय नेताका विचार भन्दा पनि  जनभावना बुझेर निर्णय लिने स्वभाव र विचारमा प्रतिबद्ध थिए । 

      ओलीद्वारा दुई- दूई पटक प्रतिनिधि सभा बिघटन गरिनुकाे एउटा कारण एमसीसी सम्झाैतालाई संसदबाटै अनुमाेदित गराउनुपर्ने अमेरिकाकाे बाध्यात्मक शर्त पनि एक थियाे । किनकि आन्तरिक राजनीति 'स्मुथ रन' मा रहेका बेला एमसीसी अनुमाेदन गराउन ओलीमाथि अमेरिकाकाे पनि व्यापक दवाव थियाे । अनुमाेदनकाे प्रयास समेत नगर्दा ओलीमाथि अमरिकी घेराबन्दी सुरु हुने निश्चित नै थियाे ।

      यसैबीच अमेरिकाकाे सट्टा देशकाे आन्तरिक राजनीतिले नै ओली सरकारमाथि घराबन्दी सुरु गरिहाल्याे । ओलीमाथि अविश्वासको प्रस्ताव पेश हुने लगभग निश्चित  नै थियाे ।  त्यसैलाई कारण देखाएर ओलीले प्रतिनिधि सभा बिघटन गरिदिए । 

      दुई पटक प्रतिनिधि सभा विघटन गराएकाेमा ओली कदमकाे व्यापक विराेध गर्दै ओलीलाई गाली गर्ने ( र ओलीकाे उक्त कदमलाई असंवैधानिक  ठहर्‍याउँदै पुनःस्थापनाकाे आदेश र परमादेश जारी गरेका) हरुले एकपटक पनि ओली कदमकाे दुरगामी सकारात्मक परिणामबारे  साेचे ?

      हाे ,  म त्यही भएर भन्छु कि कारण, कथन तथा करणबारे वस्तुनिष्ठ विश्लेषण र परिणामकाे यथार्थपरक पुर्वानुमान नगरी गरिएकाे कुनै पनि फैसला कालान्तरमा सही सावित हुने छैन । 

    यसबारे कसैलाई केही भन्नु छ ? यदि छ भने रातभरि साेचेर भाेलि दिनभरमा भन्दा पनि हुन्छ । अहिलेलाई शुभरात्री । हवस् त ।  अभिवादन । नेपाल र नेपालीकाे जय हाेस् ।                                      

                            - सुनील पाैडेल

Tuesday, August 24, 2021

गाईजात्रे मुक्तक: बाँच्न दिनुपर्छ, नाच्न दिनुपर्छ

 गाइजात्रे मुक्तक :


बाँच्न दिनुपर्छ , नाच्न दिनुपर्छ : 


जुट्छाैं भन्नेलाई जुट्न दिनुपर्छ ।

फुट्छाैं भन्नेलाई फुट्न दिनुपर्छ ।

अमिल्दा चाेइटालाई फेभिकाेलकाे के काम ?

नचाेइटिई छाेड्दिन भन्नेलाई टुट्न दिनुपर्छ ।


उतै सर्छु भन्नेलाई सर्न दिनुपर्छ ।

पारी तर्छु भन्नेलाई तर्न दिनुपर्छ ।

भेलमा खसेर उत्रन नसकाेस् त के भाे ?

डुबेरै मर्छु भन्नेलाई मर्न दिनुपर्छ ।


वैचारिक स्वतन्त्रता छ, साेच्न दिनुपर्छ ।

अवसरहरु खाेज्नेलाई खाेज्न दिनुपर्छ ।

दाम्ला चुँडाल्नेलाई बाधेर राख्नुकाे के अर्थ ?

त्यही नै राेज्छु भन्नेलाई राेज्न दिनुपर्छ ।


यतै जिउँछु भन्नेलाई जिउन दिनुपर्छ।

फाटे सिउँछु भन्नेलाई सिउन दिनुपर्छ ।

भिरबाट हामफाले काँध थाप्नु पाे कसरी हाे ?

विष पिउँछु भन्नेलाई पिउन दिनुपर्छ ।


भाेलि के हुने हाे समयले बताउला ।

गल्ती ठहरिए पश्चातापले सताउला ।

के के नै नाप्छाैं भन्नेलाई नाप्न दिँदा के हुन्छ ?

दुध हाे कि पानी भनेर जनमत जताउला ।


अहम् साँच्न खाेज्नेलाई साँच्न दिनुपर्छ ।

भ्रम बाेकी बाँच्छन् भने बाँच्न दिनुपर्छ ।

बलजफ्ती आफुतिर तानेर के नै पाे हुन्छ र ? 

फुटमा रमाएर नाच्नेलाई नाच्न दिनुपर्छ ।


( गाईजात्रा देखाउनेहरुलाई गाईजात्राकै दिन एउटा व्यङ्ग्यात्मक झड्का त दिऊँ न भनेर नि 😂🤣🤣🤣🤣😁😁😀😁😂🤣😅)


Friday, June 4, 2021

डियर कमरेड माकुनेका नाममा

 डियर कमरेड माकुनेका नाममा


छविलालकाे दाउमा,

शे.ब.दे.काे पाउमा ।

माकुनेले काेपर्दै छन्

एमालेकाे घाउमा,

कठै, एमालेकाे घाउमा 

हुर्मत अति लियाै

धाेका धेरै दियाै

आफ्नालाई उधारेर

पराइलाई सियाै 

तिमीले पराइलाई सियाै ।

खाेक्नुसम्म खाेक्छन्,

काम गर्न राेक्छन्,

घरकाे खान्की हसुरेर

अर्का भारी बाेक्छन्, 

बरै अर्का भारी बाेक्छन् ।


भन्छन् खनाएकाे,

बाटाे बनाएकाे ।

साेही बाटाे भत्काउन

किन रमाएकाे,

गाँठे किन रमाएकाे ?


पन्ध्रौं वर्ष पार्टी हाँक्याै,

सिपीलाई झाँक्याै ।

डाडु पन्यु समाउँदा 

खास खास के -के नाप्याै,

भान्छे खास खास के-के नाप्याै ? 


'नेकपा एमाले

न पाेथी न भाले' ।

तिम्रा दाेधारेपनले

जनता भन्न थाले,

सम्झ जनता भन्न थाले ।


कहिले राजा तिर,

कहिले कांग्रेस तिर ।

अवसरवादी तिमी बन्दा

पार्टी खाेज्थ्याे भिर, 

बुझ्याै पार्टी खाेज्थ्याे भिर ।


केलाई मान्नु पिर,

पार्टी जाओस् भिर ।

प्रतिगमन आधा सँच्याे

प्रधानमन्त्री तिर

तिमी प्रधानमन्त्री तिर ।


खानु लाेप्पा खायाै 

आखिर के पाे पायाै,

पार्टीलाई बिगारेर

दरबारतिर धायाै, 

मूर्ख दरबार तिर धायाै ।


खुब गरें भन्छाै,

कार्यकर्ता गन्छाै ।

मदन र मनमाेहन

 कहिले सम्झन्छाै,

तिमी कहिल्यै सम्झन्छाै ?


पछि लाग्ने लाग,

पाेइल भाग्ने भाग ।

कसलाई के- के चाहिने हाे 

माकुनेलाई माग,

लै लै माकुनेलाई माग ।


बस बाँधिएर,

अझ साँधिएर ।

फेरि समाऊ डाडु पन्यु

यतै झाँगिएर,

लाटा यतै झाँगिएर ।


दल नफुटाऊ,

देश नलुटाऊ ।

एमालेमै हित तिम्राे

अवसर नछुटाऊ,

माकुने अवसर नछुटाऊ।


पार्टी फाेड्याै भने,

बाटाे माेड्याै भने ।

दया गर्ने काेही हुन्न

एमाले छाेड्याै भने,

मान एमाले छाेड्याै भने ।


पुर्पुराे छुनुपर्छ,

धरधर रुनुपर्छ ।

नयाँ घर बनाउन

हिम्मत हुनुपर्छ,

हेर हिम्मत हुनुपर्छ।


नराेऊ धरधर,

जालझेल नगर ।

तिम्राे फेरि पालाे आउँछ 

बस आफ्नै घर, 

साेच बस आफ्नै घर ।

          - सुनील पाैडेल

Sunday, May 30, 2021

नेपाल सरकारद्वारा जारी बजेट २०७८-७९ मार्फत पत्रकारलाई प्रदान गरिने सुविधा बारे

 बजेटमा:


      आम सञ्चार प्रतिष्ठान बनाउने कुरा फेरि आएकाे छ। कार्यान्वयन भए याे त्यसैपनि स्वागतयोग्य हुँदै हाे ।

      पत्रकारलाई दुर्घटना बिमा र सरकारी अस्पतालमा नि:शुल्क उपचारकाे व्यवस्था गर्ने कुरा पनि आएका छन् ।

     पत्रकारिता र आम सञ्चारका केही विज्ञले बजेटमा याे व्यवस्था मार्फत पत्रकारलाई आफ्ना विरुद्ध नलेख्न गरेकाे आग्रहका रुपमा पनि व्याख्या गरेकाे पाइयाे ।

    हाे,  पत्रकारले सरकारप्रति हाेइन जनता र समाजप्रति उत्तरदायी रहनुपर्छ । सरकारका काम कारबाहीका बारेमा आलाेचनात्मक चेतका साथ समालाेचनात्मक टिप्पणी सहितका सन्देश प्रस्तुत गर्नुपर्ने हुन्छ । 

    कतै सरकारले प्रदान गरेकाे प्राथमिकता, सेवा र सुबिधाबाट प्रभावित भएर पत्रकारहरु सरकारप्रति बफादार बन्ने त हाेइनन् ? या सरकारकाे गुणगानमा बरालिने त हाेइनन् भन्ने आशंका नाजायज नै भने चाहिँ छैन । 

     तर , जनताकाे सुचनाकाे हक र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूतिका लागि प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्ने कर्तव्य सरकारकाे हाे । यसका लागि पत्रकारकाे हक हित रक्षाकाे जिम्मेवारी राज्यले पालना गर्नुपर्ने हुन आउँछ । बजेटमा पत्रकारकाे हक हितकाे संरक्षण केही प्राथमिकता रहनु कुनै पूर्वाग्रह हाेइन भन्नेमा ढुक्क हुनुपर्छ।

     फेरि,  प्रेस जगत् पनि राज्यकै एक अङ्ग भएकाले बजेटमार्फत यसलाई केही प्राथमिकताका साथ सम्बाेधन गर्नु सरकारकाे कर्तव्य ठहर्छ ।

     अर्काे कुरा, विगतदेखि नै सरकारले समाचार माध्यम र समाचारकर्मीका लागि विविध कानुनी प्रावधान मार्फत याेगदानका आधारमा विभिन्न छुट, अनुदान, सहयाेग र पुरस्कारहरु प्रदान गर्दै आइरहेकै छ ।

     बरु, पत्रकारिता कस्ताे र कसरी गर्छन् भन्ने कुरा पत्रकार र उनीहरु सम्बद्ध समाचार संस्थाले नै नीति, नियम, मर्म, धर्म , सिद्धान्त र आचारसंहिताकाे परिपालना कत्तिकाे गर्ने गरेका छन् भन्नेमा भर पर्छ । समाचारकर्मी र समाचार संस्थाले पालना गर्ने व्यावसायिकता त्याे समाजकाे पत्रकारिताकाे अभ्यासकाे कसी हाे । 

     यसर्थ पत्रकारितामा व्यावसायिकताकाे अभ्याससँग बजेटकाे व्यवस्थालाई दाँजेर शंका गर्नु उचित हाेइन ।

   आगामी दिनमा बजेटकाे व्यवस्थाकाे कार्यान्वयन र पत्रकारितामा व्यावसायिकताकाे अभ्यासकाे अवस्था हेरेर मात्रै यसबारे निर्णय लिनुपर्ने हुन्छ ।

                 - सुनील पाैडेल

Monday, May 17, 2021

'डेमोक्रेटिक कम्युनिजम' वा 'कम्युनिष्ट डेमोक्रेसी' सिद्धान्तका विश्व प्रणेता जननेता कमरेड मदन भण्डारी:

 'डेमोक्रेटिक कम्युनिजम' वा 'कम्युनिष्ट डेमोक्रेसी' सिद्धान्तका विश्व प्रणेता जननेता कमरेड मदन भण्डारी:  


    तिनताका दुनियाँभर कमजाेर बन्दै गइरहेकाे कम्युनिष्ट विचारधारालाई जननेता कमरेड मदन भण्डारीले नेपालकाे माटाे र  बेला सुहाउँदो लाेकतान्त्रिक विचारधाराका रुपमा परिणत गरिदिएका हुन्। 

     प्रजातान्त्रिक विचारधारका जनवादी नेता विपीले प्रजातान्त्रिक समाजवादकाे नेपालमा वकालत गरेका थिए । तर दुनियाँमा 'डेमोक्रेटिक साेसलिजम' पहिल्यैदेखि अभ्यासमा थियाे । 

     प्रजातन्त्र र साम्यवाद भने विश्वमा दुई विपरित ध्रुवीकरणका राजनीतिक विचार थिए । 'डेमोक्रेसी' र 'कम्युनिजम' सँगसँगै अस्तित्वमा रहन सक्छ भन्नेमा दुनियाँलाई गहिराे शंका थियाे । मदन भण्डारीले जनताकाे बहुदलीय जनवादकाे सिद्धान्त प्रतिपादन गरेका थिएनन् भने सायद दुनियाँमा साम्यवादी लाेकतन्त्रकाे अभ्यास नै हुँदैनथ्याे कि ?  

    अहिले हामी नेपालमा साम्यवादी लाेकतन्त्र र लाेकतान्त्रिक साम्यवाद दुबै अभ्यास गरिरहेका छाैं । याे व्यवस्थाकाे सम्भावनाका खाका काेर्ने कमरेड मदन नै हुन् । त्यस यता याे राजनीतिक परिपाटीकाे सिकाे दुनियाँका अरु धेरै देशले पनि गरेका छन् ।  

     यस मानेमा कमरेड मदनलाई 'पिपल्स मल्टीपार्टी डेमोक्रेसी' सँगसँगै 'डेमोक्रेटिक कम्युनिजम' वा 'कम्युनिष्ट डेमोक्रेसी' का प्रणेता पनि मान्नुपर्ने हुन्छ ।

    न्युज विकले त्यसै लेख्छ ''इन नेपाल कार्ल मार्क्स लिभ्स '' ? 

                    - सुनील पाैडेल

Friday, April 30, 2021

संकट , विचार र विराेध :

 संकट , विचार र विराेध :


     हाे, निरङ्कुश राजतन्त्र ढाल्नमा, गणतन्त्र ल्याउनमा , जनजागरण मार्फत जनतालाई राजनीतिप्रति थप चेतनशील बनाउनमा, पिछडा वर्गकाे आवाज थप बुलन्द गर्नमा, विकेन्द्रीकरणलाई संघियता मार्फत थप प्रभावकारी तुल्याउने प्रयत्न गर्नमा, लगायत भन्न‌ैपर्दा देशकाे समग्र अवस्था सुधारर्नमा माओवादीकाे अग्रसरता र याेगदान धेरै मुल्यवान छ ।

     २०६२/६३काे जनआन्दोलन मार्फत प्राप्त परिणामका सम्पुर्ण जस पाउनेमा सारा नेपाली सर्वसाधारण जनतासँगै दल मध्ये अग्रपंक्तिमा नेकपा माओवादी पर्छ, पर्छ । उपलब्धिकाे जस पाउने हकदार मध्येकाे प्रमुख दल माओवादी नै हाे । यसलाई स्विकार गर्नैपर्छ र गरिन्छ ।

     यस मानेमा साँच्चिकै देश र जनताका लागि भनेर ईमानदारीका साथ लागिपरेका र साथ दिएका तमाम माओवादीप्रति सम्मान व्यक्त गर्नैपर्छ, गर्छु। 

     तर, प्राप्त परिणाम र उपलब्धिकाे रक्षा गर्न र साे उपलब्धिलाई देश र जनहितका खातिर उपयोगी तुल्याउनुपर्नेमा सबैभन्दा ज्यादा चुकेकाे पनि फेरि माओवादी नै हाे । यसकाे मुख्य जिम्मेवारी माओवादीका तत्कालीन सबै नेतृत्वले लिनैपर्छ ।

   यसकारण त्यस यता इमान्दार कार्यकर्ता र साेझा सिधा मतदाता बाहेक माओवादीकाे शिर्ष नेतृत्वप्रति मेराे सदा विराेध रहँदै आएकाे छ । खासगरी अध्यक्ष पुष्पकमल दाहाल र उनका अन्धभक्त अनुयायी विराेधकाे केन्द्रमा रहने गरेका छन् । 

    माओवादी आन्दाेलन राष्ट्रिय हितकाे आन्दाेलनमा मात्रै सिमित रहन सकेन , याे कुरा सत्य हाे ।  सुरुवाती चरणदेखि सशस्त्र आन्दाेलनका दाैरान भनाैं या शान्ति प्रक्रियामा आइसकेपछिसम्म पनि धेरै अवसरवादीहरुकाे माओवादीमा संलग्नता र प्रवेश भएकाे छ । केही सुरुमा इमानका साथ लागेपनि कालान्तरमा व्यापक अवसरवादी बनेका पनि छन् ।

    नेकपा माओवादीमा करिब एकछत्र सबैभन्दा शिर्ष नेतृत्वमा रहेका पुष्पकमल दाहाल आफैं पदीय अवसरवाद र पछिल्लो समय व्यक्तिगत , पारिवारिक र आर्थिक अवसरवादमा डुबुल्की मार्न अग्रसर देखिएका उदाहरणहरु प्रशस्तै छन् ।

   त्यही अवसरवाद छाताछुल्ल देखिएपछि  माओवादीकाे विराेध हुने गरेकाे हाे, विराेध  गर्नुपरेकाे हाे ।

   जुन र जति जनधनकाे क्षति, त्रास र तनाव हामीले व्यहोर्नु परेकाे थियाे, त्यसबापत देश र जनताले वास्तविक रुपमा खुसी हुनेगरी जति अवसर र उपलब्धि हासिल गर्नुपर्ने थियाे , त्याे मुख्यगरी माओवादी नेतृत्वकै कारणले हुनसकेन भन्दा अत्याेक्ति हुन्छजस्ताे लाग्दैन ।

   अहिले त्यही माओवादीकाे अवसरवादी झुण्ड र त्यससँग मितेरी गाँस्न पुगेकाे नेकपा एमालेकाे कारबाहीमा परेका नेता माधवकुमार नेपाल नेतृत्वकाे समूह प्रमुख प्रतिपक्षी भन्दा ज्यादा अगाडि बढेर वर्तमान सरकारकाे विराेध गरिरहेछ । 

    खासगरी अहिले गण्डकी प्रदेश सरकारमा दिपक मनाङे भनिने राजीव गुरुङलाई मन्त्री बनाएकाे कुरामा वर्तमान सरकारकाे व्यापक विराेध भइरहेकाे छ । यसमा माओवादी अग्रपंक्तिमा छ ।

      हामी आफैंले बनाएकाे संविधान र त्यसले गरेकाे व्यवस्थानुसार बनाइएका नियम- कानुनका आधारमा राजीव गुरुङ 'उर्फ दिपक मनाङे'ले प्रदेश शभाकाे सांसदकाे उमेदवार बन्न पाएका हुन् । 

    'अपराधी पृष्ठभूमिकाे' भनेर सबै दलले टिकट दिन हिच्किचाइरहेकाे अवस्थामा स्वतन्त्र उठेर दिपक मनाङेले चुनाव जितेका हुन् । 

   'जहाँबाट जसरी पनि चुनाव लड्न र जित्नैपर्ने' राष्ट्रिय राजनीतिका एक दुई थान टाउके नेताले जस्ताे व्यापक धाँधली गरेर परिणाम उल्ट्याइ सांसद चुनिएका हाेइनन् उनी । मनाङ्का जनताले पत्याएर बहुमत दिइ उनलाई निर्वाचित गरेका हुन् । 

   यसर्थमा राजीव गुरुङ मन्त्री बनाइन नालायक मान्छे हाेइनन् । उनलाई मन्त्री बनाउँदा मनाङ्का जनताकाे सरकारमा प्रतिनिधित्व सुनिश्चित भएकाे छ ।

   दिपक मनाङेलाई मन्त्री बनाइयाे भनेर गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रधानमन्त्री केपी ओलीकाे विराेधमा राेइलाे गाउनु बेकार छ ।

    विराेध नै गर्ने हाे भने फाैजदारी अभियाेग लागेका र जघन्य अपराधी करार भैसकेकाहलाई उमेदवार बन्न छुट दिने कानुनकाे विराेध गराैं ।

    

   व्यक्तिगत स्वार्थमा हत्या ,लुटपाट, अपहरण आदिजस्ता जघन्य अपराध गरेकाले 'राजनीतिक मुद्दा'का नाममा उन्मुक्त भएर उच्च पदासिन हुन पाएका छन् हाम्रो मुलुकमा । 

    राज्यभर सार्वजनिक सम्पत्तिकाे विनाशलिला चलाएर दशाैं वर्ष देशव्यापी  आतङ्क फैलाएकाहरुले अझैसम्म सजाय नै भाेग्नुपरेकाे छैन । तिनीहरु मध्ये अधिकांशले केन्द्रदेखि स्थानीय तहका विभिन्न पदमा उमेदवार बन्न, डर, धाक र धम्कीद्वारा मनाेमानीपूर्ण ढङ्गले धाँधली गरेर चुनाव जित्न र पटक पटक सरकारका विभिन्न पदमा रहन पाएकै छन् । धेरै त राष्ट्रिय राजनीतिकाे उच्च सम्मानित पदहरुमा पनि बारम्बार पुगेका छन् , पदासिन छन् ।

   अनि आफुले गरेकाे अपराधकाे माैजुदा कानुनानुसार सजाय भुक्तान गरेका एक नेपाली नागरिकले स्वतन्त्र तवरमा चुनाव भिडेर मन्त्री बन्दा के काे राेइलाे ? 

    राेइलाे गान गर्नेहरुलाई मेराे सल्लाह छ:

 अहिले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरुकाे विराेधका लागि अरु धेरै मुद्दा छन् ।

१. जनअपेक्षानुरुप सरकारहरु चल्न सकिरहेका छैनन् । दलीय राजनीतिले सबै तहका सरकारहरु अफ्ट्यारो अवस्थामा छन् । आफू टिक्नु प्राथमिकताकाे विषय बनेकाे छ । विराेध त्यहाँ गराैं ।

 २. प्राथमिकता अनुसार बिस्तारै गर्दा हुने काममा सरकारकाे दिलचस्पी ज्यादा देखिइरहेकाे छ भने तत्कालै उच्च प्राथमिकताका साथ गर्नुपर्ने काममा सरकारहरुकाे ध्यान अझै नपुगिरहेकाे अवस्था छ। त्यहाँनेर झक्झक्याउनुपर्छ।

३. भ्रष्टाचार अझ नियन्त्रण भन्दा बाहिर छ । अनियमितता चर्काे छ । विराेध यस विषयमा गराैं ।

४. काेभिड महामारीको कारण विश्व आक्रान्त बनेकाे हालकाे परिप्रेक्ष्यमा जनतालाई सुरक्षा सावधानी अपनाउँदै सचेत रहन आग्रह गरेकाे भरले मात्रै सरकारकाे अभिभावकीय जिम्मेवारी पुरा हुँदैन । बच्न खाेज्दा खाेज्दै संक्रमित भइहाले उपचारकाे व्यवस्था राज्यले मिलाउनै पर्छ । याे बारे आवाज बुलन्द गराैं ।

५. सरकार टिकाउनका लागि राज्य विरुद्धको अपराधजस्ताे गम्भीर विषयमा मुद्दा खेपिरहेका र सजाय भाेगिरहेकाहरुकाे मुद्दा फिर्ता लिने काम भइरहेकाे छ, उनीहरु पुरस्कृत हुँदैछन् । यसकाे घाेर विराेध गराैं ।

६. लकडाउनले गर्दा व्यापार व्यावसाय बन्द छन्। आम्दानी ठप्प भएर अफ्ट्यारोमा परेकाहरुकाे बिचल्ली हुन थालिसकेकाे छ । यसमा जनताकाे अभिभावक सरकार उदासीन देखिएकाे छ । यसकाे विराेध गराैं ।

७. याे अवस्थाबाट राज्यकाे शिक्षा, स्वास्थ्य, राेजगारी,लगायत विकासका पूर्वाधार र  अर्थतन्त्रमा पर्ने प्रभाव न्युनीकरणकाे याेजना निर्माणमा सरकारकाे तदारुकता देखिँदैन । यसमा विराेध गराैं ।  

    सरकारका विराेध गर्न देश र जनतासँग प्रत्यक्ष सम्बद्ध यस्ता अन्य मुद्दाहरु प्रशस्तै हुँदाहुँदै मन्त्री नियुक्तिकाे फितलाे मुद्दामा अल्झिनु प्रतिपक्षी लगायत सबैका लागि हितकर छैन । 

    पुनश्च: देशमा संकट आइपर्दा सरकार मात्रै जिम्मेवार बनेर पुग्दैन । प्रतिपक्षी लगायत सबैकाे आ-आफ्नाे जिम्मेवारी हुन्छ र साे पूरा गर्नुपर्छ । खाली सरकारै मुख ताकेर र सरकारकाे विराेध गर्दैमा प्रतिपक्षी धर्म पूरा हुँदैन । 

   पहिला आफ्नाे काँधकाे भैंसी हेराैं अनिमात्र अर्काकाे आङकाे जुम्रा देखाआैं ।            

    समस्याकाे टुप्पाे काटे झन् झन् झाङ्गिएर बढ्ने खतरा हुन्छ । त्यसैले समस्याकाे जराे चिनाैं र जरैबाट उखेलेर फालाैं ।

     विराेधका लागि विराेध गर्न छाेडाैं ।

    वर्तमान संकटकाे सामना गर्न आ-आफ्ना ठाउँबाट सबै जिम्मेवार बनाैं।

                   - सुनील पाैडेल